TagaroNews
गण्डकीमा फैलियो डेंगु, तनहुँमा सबैभन्दा बढी
सांकेतिक तस्बिर ।

काठमाडौं - एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेबाट सर्ने डेंगु पछिल्ला दिनमा गण्डकी प्रदेशका जिल्लामा फैलिने क्रम बिस्तारै बढ्दै छ । जिल्लागत रूपमा सबैभन्दा धेरै तनहुँमा ७१५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

यतिवेला नेपालका ७४ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । मुस्ताङ, हुम्ला र जुम्ला बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । त्यसमध्ये इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को पछिल्लो तथ्यांक अनुसार सबैभन्दा बढी तनहुँमा छन् ।

सन् २०२४ को सुरू अर्थात् गत पुसको मध्यदेखि हालसम्म ३ हजार ७५५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार गण्डकीमा १ हजार ४४८ जना डेंगु संक्रमित फेला परेका हुन् ।

गण्डकीसँगै बागमतीमा ९२८, कोशीमा ६३९, लुम्बिनीमा ३२८, सुदूरपश्चिममा २९५, मधेशमा ६५ र कर्णाली प्रदेशमा ५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लागत रूपमा सबैभन्दा धेरै तनहुँमा ७१५, काठमाडौंमा ३५४, कास्कीमा २७४, झापामा १४७, चितवनमा १४५, पर्वतमा १३६, मकानपुरमा ९०, गोरखामा ८५ जना डेंगु संक्रमित भेटिएका छन् ।

अब मनसुन बिस्तारै रोकिँदै गएसँगै डेंगुका बिरामी बढ्न सक्ने इडीसीडीका अधिकारी बताउँछन् । अघिल्लो वर्ष ७७ वटै जिल्लामा डेंगु फैलिँदा ५२ हजार भन्दा बढी संक्रमित भएका थिए भने २० जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update