TagaroNews
विदेशमा चम्किदै लमजुङे खेलाडी जमन सिङ

लमजुङ – धेरै खेलाडीलाई आफनो प्रतिभाको माध्यमबाट देशको नाम राखौँ भन्ने हुटहुटि हुन्छ । उनीहरुको खेलप्रति लगाव र मेहनत पनि उत्तिकै हुन्छ । तर, जव आर्थिक पाटोको विषय अगाडी आउँछ खेलाडीकै मनोवलमा ठेस लाग्न पुग्छ । 

यसै कारणले आफु भित्र रहेको खेलप्रतिको मोहलाई भित्रि मनमा लुकाउँदै अधिकांश खेलाडी विदेशिन बाध्य छन् । यस्तै खेलाडी मध्यका एक हुन् लमजुङका कराँते खेलाडी जमन सिङ गुरुङ ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ शिलढुङ्गामा जन्मिएका ३४ बर्षीय जमन सिङ सुरुदेखी नै जिल्लाको मेहनती र उत्कृष्ट मध्यका एक कराँते खेलाडी थिए । उनको पनि सोच थियो कि, भोलिका दिनमा देशमात्र होइन विदेशमा समेत आफनो खेलको उत्कृष्ट प्रदर्शन गरेर देशको नाम राख्ने । 

तर, आर्थिक पाटोकै विषय जोडिएपछि उनले देशमा सञ्चालित धेरै खेलहरुमा सहभागी हुनै पाएनन् । मौकाको कुरा भनौ, उनले देशबाट सहभागी भएर पहिलो पटक सन २०१४ मा भने, कोरियामा सम्पन्न एसियन खेलमा सहभागी हुने अवसर पाए ।  

एकातर्फ घरको पारिवारिक आर्थिक अवस्था कमजोर र अर्कोतर्फ नेपालमा सोचेजस्तो जागिर र कमाई नहुने भएपछि जमन सिङ इपिएस भाषामा नाम निकालेर २०१४ मा भने, कोरियातर्फ लागे । कोरियामा बसेर काम गरेपनि उनको खेलप्रतिको मोह र देशप्रतिको नाम राख्ने चाहना भने, मनबाट हट्न सकेन । 

उनी आफुले काम गरेर बचत हुने केही रकम र साथीभाईको सहयोगमा आफनो कराँते खेललाई विदेशमा समेत निरन्तरता दिन थाले । उनले आफनै खर्चमा थुप्रै अन्तराष्ट्रिय प्रतियोगीतामा नेपालको तर्फबाट खेल खेलेका छन् । 

जनम सिङले हालसम्म अन्तराष्ट्रिय खेलमा ८ भन्दा बढी गोल्ड मेडल जितिसकेका छन् । उनले आफनै बचत खर्च र साथिहरुको सहयोग लिएर कोरियासँगै मलेसिया, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भारत गरी थुप्रै देशमा नेपालको प्रतिनिधित्व गरी अन्तराष्ट्रिय खेल खेलेका छन् । 

उनी कराँते खेलाडी मात्र होइन्, पछिल्लो समय किक बक्सिङको पनि राम्रो खेलाडी हुन् । दक्षिण कोरियामा एक कम्पनीको कामसँगै त्यहाँका विद्यार्थीहरुलाई कराँते सिकाउनुका साथै गोजु–रियो कराँते र किक बक्सिङको अन्तराष्ट्रिय रेफ्रीको कार्य समेत गर्दै आएका छन् । 

जनम सिङ र मेहनत
लमजुङको विकट गाउँ मध्यको सिलढुङ्गाबाट क्याम्पस पढ्न २०६४ सालमा जनम सिङ सदरमुकाम बेसीशहर झरेका थिए । किसानी परिवारका उनी बेसीशहरमा सानो कोठा भाडामा लिएर क्याम्पस पढ्थे । उनी भन्छन् ‘बाबुआमाको कमाई थिएन्, बेसीशहरमा कोठा भाडामा बसेर कलेज पढ्नुपर्ने, कराते खेलप्रति रुचि थियो । तर, जीवन संघर्ष नै रहेछ जस्तो लागो, जसोतसो भित्रि इच्छा मार्न सकिन् । खेल र पढाईलाई निरन्तरता नै दिएँ ।’

जनम सिङले केहि समयपछि लमजुङको भोटेवडारमा रहेको फ्युचर स्टार बोर्डिङ स्कुलमा समेत विद्यार्थीहरुलाई ट्रेनिङ दिने गरेको सम्झना सुनाए । जसोतसो आर्थिक व्यवहार सल्टाउँदै खेललाई अगाडी बढाएका उनले आर्थिक अवस्था कमजोरीकै कारण आफु बिदेशिन बाध्य भएको बताए ।

उनी भन्छन् ‘बिदेशी भुमिमा काम गरेपनि आफनो प्रतिभालाई नेपालको प्रतिनिधित्व गर्दै विश्वसामु चिनाउने कार्य जारी छ । देशले मलाई के दियो भन्दा पनि मैले देशलाई के दिन सकेँ भन्ने ठूलो कुरा हो जस्तो लाग्छ । त्यसैले अझै पनि देशका लागी अन्तराष्ट्रिय खेलमा भाग लिएर पदक जित्ने इच्छा र प्रयास जारी छ । तर, हामीजस्ता खेलाडी देशले नचिन्नुमा चै दुःख लाग्छ ।’

जमन सिङको प्रदर्शन र पदक 
२०१४ : मलेसिया अन्तराष्ट्रिय गोजु–रियो कराँते च्याम्पियनसिप १ स्वर्ण, १ कास्य पदक
२०१४ : सिगापुर गोजु–रियो कराँते च्याम्पियनसिप १ रजत पदक
२०१६ : भारत गोजु–रियो कराँते च्याम्पियनसिप २ स्वर्ण पदक 
२०१८ : कोरिया प्रथम सोलु खुल्ला अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिप १ स्वर्ण, १ कास्य पदक
२०१९ देखि २०२३ सम्म : कोरिया खुल्ला अन्तराष्ट्रिय कराँते च्याम्पियनसिप ३ स्वर्ण, २ रजत, १ कास्य पदक 
२०२४ : फिलिपिन्स सितो–काई अन्तराष्ट्रिय कराँते च्याम्पियनसिप २ कास्य पदक
२०२४ : थाइल्याण्ड विश्व सम्मेलन तथा विश्व कराँते च्याम्पियनसिप १ स्वर्ण, १ रजत पदक 
२०२४ : १६ औँ कोरिया खुल्ला अन्तराष्ट्रिय कराँते डो च्याम्पियनसिप २ रजत पदक

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update