TagaroNews
तिमाङ छहरामा फलामे पुल राखेपछि पूर्ण सञ्चालनमा बेसीशहर–चामे सडक  
तिमाङ छहरामा फलामे पुल राखेसँगै चल्दै गरेका जीप ।

लमजुङ – बेसीशहर–चामे सडकखण्ड अन्तर्गत मनाङको तिमाङ छहरामा फलामे पुल राखेपछि सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ । 

सडक खण्ड अन्तर्गत मनाङको चामे गाउँपालिका–१ तिमाङ छहरामा गत असार १७ र १८ गते आएको बाढीले जग बसाउने ठाउँ समेत नराखी पुल बगाएपछि सडकको सो खण्ड अबरुद्ध बनेको थियो । 

डुम्रे–बेसीशहर–चामे सडक आयोजनाले ५ दिनको लामो प्रयास पछि फलामे पुल राख्न सफल भएको आयोजनाका सव ईन्जिनियर सुमन अधिकारीले बताए । उनका अनुसार फलामे पुल राखेसँगै सोमबार दिउँसोबाट सवारीसाधन आवतजावत सुरु भएको छ । 

असार १७ गते तिमाङ खोलामा आएको बाढीले काठेपुल बगाएकोमा सोहि ठाउँमा भने, पुनः काठेपुल निर्माण गरि कैचु डाँडा सम्म सडक सञ्चालनमा ल्याइएको थियो । 

यसअघि सडक अवरुद्ध हुँदा सडक खण्ड अन्तर्गत बेसीशहरबाट नासों गाउँपालिका–९ दानक्युसम्म सवारी साधनहरु सञ्चालन भइरहेका थिए । तिमाङ खोलामा काठेपुल निर्माण पश्चात मनाङ चामेबाट तल्लो क्षेत्र दानक्युको कैचु डाँडासम्म सवारीसाधनहरु चल्ने गरेका थिए ।

तिमाङ छहरामा काठेपुल विस्थापित गर्दै ठूलो छहरा र सानो छहरामा स्ल्याव कल्भर्ट पुल निर्माण गरिएको थियो । दुई वर्षअघि निर्माण गरिएको सो पुल बाढीले बगाएपछि अहिले फलामे पुल राखेसँगै सडक पूर्णरुपमा सञ्चालनमा आएको हो ।

यो पनि....

मनाङ तिमाङ खोलामा काठेपुल बन्यो, छहराको पुल नबन्दा सास्ती

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update