TagaroNews
प्राधिकरणको अवैध धन्दाः उपभोक्ताबाट उठाएको रकम क्रिप्टोकरेन्सीमा
नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रको कार्यालय ।

लमजुङ – नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले उपभोक्ताबाट उठाएको रकम नेपालमा प्रतिबन्ध रहेको क्रिप्टोकरेन्सीमा लगानी गरेको खुलेको छ । वितरण केन्द्रका प्रमुख, प्रशासन प्रमुख, लेखा अधिकृत र एक कर्मचारीको मिलेमतोमा ३४ लाख बढी रकम क्रिप्टोकरेन्सीमा लगानी गरेको तथ्य तगारो न्यूजले फेला पारेको हो ।  

नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराई, प्रशासन प्रमुख तेज नारायण आचार्य, लेखा अधिकृत सुदिप ज्ञवाली र कार्यालय सहयोगी शर्मिला रानाको मिलेमतोमा ३४ लाख ७५ हजार रुपैयाँ क्रिप्टोकरेन्सीमा लगानी गरिएको तथ्य भेटिएको हो । 

कार्यालयबाट प्राप्त संस्थाको कारोबार बारेको सूचना । 

नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रमा उपभोक्ताबाट उठ्ने दैनिक रकम बैंकमा जम्मा हुनुपर्छ । माछापुच्छ्रे बैंक बेसीशहर शाखाका कर्मचारी नै कार्यालय पुगेर दैनिक रुपमा सो रकम बचत गर्छन् ।

तर, २०८० साल फागुन देखी २०८१ साल असार महिनासम्म केन्द्रले उपभोक्ताबाट उठाएको रकम बैंकमा दैनिक बचत नै भएको छैन् । यो बिचमा उपभोक्ताबाट उठेको रकम मिलेमतोमा क्रिप्टोकरेन्सीमा लगानी गरिएको देखिन्छ । बैंक र कार्यालयका कर्मचारीको हिसावकिताब नमिलेपछि यस कुरा बाहिरिएको हो । 

वितरण केन्द्रले उपभोक्ताबाट उठाएको रकम क्रिप्टोकरेन्सीमा लगानी गरेको कुरा केन्द्रकै कर्मचारीहरुबाट बाहिरिन थालेपछि अहिले कार्यालय सहयोगी शर्मिला रानालाई मात्र दोष देखाएर वितरण केन्द्र प्रमुख, प्रशासन प्रमुख र लेखा अधिकृत यस घट्नाबाट पन्छिने सम्मको हर्कत गर्दै आएका छन् । 

दबावमा बनाइयो तमसुक 
कार्यालयको ३४ लाख ७५ हजार रकम सबै कार्यालय सहयोगी रानाले मात्र हिनमिना गरेको प्रमाणित गर्नका लागि चलखेल गरी दबावमा तमसुक बनाएको देखिन्छ । 

धादिङ जिल्ला घर भई हाल नेपाल विद्युत प्राधिकरणको ठेक्कापट्टा काम गर्ने ठेकेदार जीवन श्रेष्ठसँग २३ लाख ५१ हजार ४ सय ८१ रुपैयाँमा कार्यालय सहयोगी रानाकी आमा शारदा राना मगरको नाम भएको २ रोपनी ५ आना ३ पैसाको जग्गा विक्री गरेको तमसुक बनाइएको छ । बाँकी रकम भने, उनले संस्थालाई बुझाइसकेकी छन् ।  

उक्त जग्गा जीवन श्रेष्ठको नाम साउन २२ गते पास गर्ने तमसुकमा उल्लेख छ । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका कर्मचारी लक्ष्मण कमली र वितरण केन्द्रका  प्रमुख मेघनाथ भट्टराईले तमसुक बनाउन दबाव दिएको रानाको परिवार जनाएको छ ।

राना परिवारले यो विषयमा जानेबुझेको आफन्त ल्याउँछु भन्दा, कोही पनि ल्याउन नहुने ल्याई हाल्यो भने अठ्यारो पर्ने र यो विषय बाहिर अरुले थाहा भयो भने, जेल सम्म बस्नुपर्ने धम्की दिएर तमसुक बनाएको खुलेको छ । केन्द्रका प्रमुख भट्टराईले यो कुरा गुपचुप राख्न दबाब दिदैँ आएका छन् । कार्यालयका कर्मचारी कमली र ठेकेदार श्रेष्ठ तमसुक बनाउनका लागि रानाको परिवारमा गएका थिए ।

ठेकेदार जीवन श्रेष्ठको नाममा जग्गा विक्रीका लागी गरेको तमसुक ।

उक्त तमसुक अहिले केन्द्र प्रमुखले राखेका छन् । यतिमात्र होईन शर्मिला रानाको नामको २३ लाख ५१ हजार ४ सय ८१ रुपैयाँको चेक समेत आगामी पुसको मिति राखेर काट्न लगाइ प्रमुख भट्टराईले नै राखेका छन् ।  

संस्थाको बदनाम सँगै केन्द्रका प्रमुख, प्रसाशन प्रमुख, लेखा अधिकृत र अन्य कर्मचारी कारबाहीमा पर्ने डरले तमसुक बनाई करारमा काम गर्ने कार्यालय सहयोगी रानालाई सबै दोषी देखाएर रकम असुली गरेको प्रष्ट देखिन्छ । 

कसरी जोडिए ठेकेदार ? 
वितरण केन्द्रका प्रमुख भट्टराई सहितका कर्मचारीले चलाखीपूर्ण तरिकाले सबै दोष कार्यालय सहयोगी रानालाई प्रमाणित गरेर ठेकेदार श्रेष्ठसँगको लेनदन बनाएर आफु पन्छीन खोजिएको देखिन्छ । 

संस्थाको रकम संस्थाकै कर्मचारीहरुको मिलेमतोमा हिनामिना भएपछि त संस्थाले संस्थाकै नाममा लेनदेन गर्नुपर्ने हो । तर, संस्थासँग ठेक्कापट्टामा जोडिएका संस्थाको कर्मचारी बाहेकको दोस्रो व्यक्तिलाई लेनदेनमा जोड्नु संस्थामा हालिमुहाली गरिरहेका केहि कर्मचारीले आफ्नो कर्तुत लुकाउन र संस्थालाई यो विषयमा संलग्नता नदेखाउन गरेको चलाखी भएको संस्थाकै एक कर्मचारीले बताए । 

यो विषयलाई ढाकछोप गर्न र कार्यालय सहयोगी रानासँग कार्यालयलाई नजोडी रकम असुलीका लागी मात्र दोस्रो पात्रको रुपमा ठेकेदार श्रेष्ठलाई प्रस्तुत गरिएको प्रष्ट देखिन्छ ।  

कार्यालय सहयोगीले मात्र संस्थाको लाखौँ रकम हिनामिना गर्न सक्छ ? 
कुनै पनि सरकारी, गैर सरकारी संस्थाको लाखौँ रकम हिनामिना गर्न संस्थाका अन्य कर्मचारीहरुको मिलेमतो विना असम्भव छ । यस संस्थाको रकम हिनामिनाको घट्ना पनि यस्तै देखिन्छ ।  

२०७२ साल देखि नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रमा दैनिक ज्यालादारी करारमा कार्यालय सहयोगीको पदमा शर्मिला राना आबद्ध भएकी हुन् । यस विषयमा बुझ्दा उनले भनिन् ‘म केन्द्रको विल तिर्ने काउन्टरमा काम गर्दै आएको थिएँ । पछिल्लो २ वर्ष देखि मलाई आय फाँटको जिम्मेवारीमा राखियो । मलाई नियतवश अर्को शाखामा सारिएको हो ।’ 

म भन्दा माथिको पदका कर्मचारीहरुले नै मलाई क्रिप्टोकरेन्सीमा रकम हाल्नुपर्छ भनि प्रेरित गरेका हुन् । त्यहि अनुसार मेरो नामबाट लगानी गर्दै गएको हो । अहिले रकम फसेपछि सबै दोष मेरो टाउकोमा थुपारेर उनीहरु उम्किन खोजेका हुन् ।’

उनले थप्दै भनिन् ‘यति धेरै रकम म कार्यालय सहयोगीे एक्लैले कसरी चलाउन सक्छु । म भन्दा माथि पदको कर्मचारीहरुले भनेपछि कि जागिर छोड्नु पर्‍यो कि उनीहरुले भनेको मान्नुपर्‍यो ।’ 

हामीले उक्त कर्मचारीहरुको नाम खुलाउन आग्रह गरे पनि उनले कुनै कर्मचारीको नाम भने, खुलाउन चाहिनन् ।  

यसबारे के भन्छन वितरण केन्द्र प्रमुख ? 
उपभोक्ताबाट उठेको रकम हिनामिना भएको कुरा केन्द्रका प्रमुख मेघनाथ भट्टराईले स्विकार गर्छन् । तर, यो विषय बाहिर नल्याउन भने, उनले आग्रह गरे । कति रकम हिनामिना भएको उनले खुलाउन पनि चाहेनन् ।

उनले भने, ‘गत फागुन देखि जेठ महिनासम्मको दैनिक उपभोक्ताबाट उठाएको रकम के कति उठेको छ र कति बैंकमा जम्मा भएको त्यसको हिसावकिताव नगर्नु हाम्रो कमजोरी हो । यो रकम हिनामिना गरेको एक जना कर्मचारीले हो । हामीले ति कर्मचारीलाई आन्तरिक कारवाही गरिसकेका छौ ।’ उनले थपे, “हिनामिना भएको रकम पनि सबै बैंकमा जम्मा भइसकेको छ, यदि नभएको भए हामीले प्रहरीमा उजुरी दिइहाल्थ्यो नि ।” 

यति धेरै रकम कार्यालय भित्रबाट त्यो पनि एउटा कार्यालय सहयागीको पदमा काम गर्ने कर्मचारीबाट कसरी हिनामिना हुन सक्छ ? भन्ने प्रश्नमा उनले भने, ‘ति कर्मचारीले दैनिक उठेको रकम बैँकमा जम्मा गरेको नक्कली भौचर देखाएर उक्त रकम क्रिप्टोकरेन्सीमा हालेको रहेछ । हामीलाई तीन महिनापछि थाहा भएको हो ।’

यस विषयमा नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय पोखराका प्रमुख कमल आचार्यसँग कुरा गर्दा उनले संस्थाको विनियम अनुसार दैनिक ज्यालादारीका कर्मचारीलाई कारबाहि गर्न नमिल्ने बताए । उनले भने ‘यो विषय प्रहरीमा जान्छ । प्रहरीको अनुसन्धानले को–को दोषी देखाउँछ । त्यहि अनुसार कारबाहि अघि बढ्नेछ ।’

सेवाग्राही उपभोक्ताले सेवा वापत राज्यलाई बुझाएको रकम नेपालमा प्रतिबन्धित  क्रिप्टोकरेन्सीमा लगानी गर्नु कानुन विपरित हो । यस विषयमा सम्बन्धीत निकायले निष्पक्ष छानविन गरी दोषी माथी तत्काल कारबाहि गर्नुपर्ने देखिन्छ । यस विषयमा हामी निरन्तर फलोअप गर्नेछौँ । 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update