TagaroNews
मनाङ तिमाङ खोलामा काठेपुल बन्यो, छहराको पुल नबन्दा सास्ती 
तिमाङखोलामा पुननिर्माण गरिएको काठेपुल ।

मनाङ - बेसीशहर–चामे सडकखण्ड अन्तर्गत मनाङको चामे गाउँपालिका–१ तिमाङखोलामा पुनः काठेपुल निर्माण गरी सवारी आवतजावत सहज बनाइएको छ । तिमाङ खोलामा रहेको काठेपुल गत असार १७ गते राति आएको बाढीले बगाएको थियो । 

डुम्रे–बेसीशहर–चामे सडक आयोजनाले साढे ७ मिटर लम्बाई र ४ मिटर चौडाईको काठेपुल निर्माण गरेसँगै शुक्रबारदेखी सवारी सञ्चालनमा सहज भएको आयोजनाका सव ईन्जिनियर सुमन अधिकारीले बताए । 

यता तिमाङ छहरामा पुल नबन्दा भने समस्या थपिएको छ । छहरामा आएको बाढीले जग बसाउने ठाउँ समेत नराखी पुल बगाएपछि अस्थायी रुपमा फलामको बिम राखेर पुल बनाउने तयारी गरिएको सडक आयोजनाले जनाएको छ । आयोजनाका अनुसार तिमाङ छहराको लागि बेलिब्रिज माग गरिएको बताए । 

काठेपुल समेत राख्न नमिल्ने गरी सवै खोतलेर लगेकाले बेलिब्रिज बाहेकको विकल्प नदेखिएको मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताए । उनले सडक आयोजनाका प्राविधिकहरुसँग सल्लाह गरेर अघि बढ्ने जानकारी दिए ।

तिमाङ छहरामा काठेपुल विस्थापित गर्दै ठूलो छहरा र सानो छहरामा स्ल्याव कल्भर्ट पुल निर्माण गरिएको थियो । दुई वर्षअघि निर्माण गरिएको स्ल्याव कल्भर्ट पुल गत असार १७ गते राति र १८ गते आएको बाढीले बगाएको हो ।

यतिबेला सडक खण्ड अन्तर्गत बेसीशहरबाट नासों गाउँपालिका–९ दानक्युसम्म सवारी साधनहरु सञ्चालन भइरहेका छन् । तिमाङ खोलामा काठेपुल निर्माण पश्चात मनाङ चामेबाट तल्लो क्षेत्र दानक्युको कैचु डाँडासम्म सवारीसाधनहरु चल्ने गरेका छन् ।

तिमाङ छहरामा पुल निर्माण नहुँदा स्थानीयहरु यतिवेला दानक्युबाट उकालो हिँडेर कैचु डाँडा पुग्नुपर्ने बाध्यता थपिएको छ ।तिमाङ छहरामा पुल निर्माण नभएर आवतजावत ठप्प भएपछि दैनिक उपभोग्य सामाग्री मनाङ पुर्याउन समेत स्थानीयले सास्ती खेप्नुपरेको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update