TagaroNews
एसईईपछिको उच्च शिक्षामा सानिमा बैंकको छात्रवृत्ति योजना
सानिमा बैंक बेसीशहर शाखा कार्यालय ।

लमजुङ - सानिमा बैंकले एसईईपछिको उच्च शिक्षा अध्ययनका लागि छात्रबृत्ति उपलब्ध गराउने भएको छ । उपत्यकाबाहिर रहेका सानिमा बैंकका शाखाहरुमार्फत प्रत्येक शाखाले कक्षा ११ र १२ का लागि २–२ जनाका दरले उपलब्ध गराउने छात्रवृत्तिका लागि आवेदन समेत खुला गरेको छ । 

बैंकले विगत १२ बर्षदेखि हरेक शाखाहरु मार्फत गरीब तथा बिपन्न बिद्यार्थीहरुलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृति प्रदान गदै आइरहेको बेसीशहर शाखाका शाखा प्रबन्धक नविन बिक्रम रायमाझीले बताए । उनका अनुसार छात्रवृत्ति पाउन विद्यार्थी कम्तीमा पनि एसईईमा ‘सी’ ग्रेड प्राप्त गरेको हुनुपर्छ । 

बैंकको जुन शाखामा छात्रवृत्ति पाउन आवेदन दिने हो विद्यार्थी सोही स्थानीय तहको स्थायी बासिन्दा हुनुपर्ने छ । आवेदकले सोही स्थानीय निकायभित्रका सरकारी/सामुदायिक विद्यालयमा निरन्तर विगत तीन वर्षदेखि अध्ययन गरी पछिल्लो प्रयासमै एसईई उत्तीर्ण गरेको हुनुपर्छ । 

छात्रृवत्ति पाउने विद्यार्थीले सोही स्थानीय निकायभित्र रहेका उच्च माध्यमिक शैक्षिक संस्थामा अध्ययन गर्नुपर्नेछ । शैक्षिक संस्था र संकाय भने विद्यार्थी आफैँले रोज्न पाउनेछन् । 

आवेदकले अध्ययन गर्न इच्छाएको शैक्षिक संस्थाले आवेदकलाई भर्ना लिने निश्चित भएपछि मात्र बैंकले छावृत्ति प्रदान गर्नेछ । आवेदकहरुमध्येबाट सबैभन्दा गरिब तथा विपन्न उम्मेदवारको छनोट बैंकले गठन गरेको स्थानीय व्यक्तिहरु सदस्य रहेको सिफारिस समितिले गर्नेछ । 

छात्रवृत्ति पाउन विद्यार्थीले साउन ३२ गतेसम्म सम्बन्धित बैंकका शाखाहरुमा गएर आवेदन फाराम भर्न सक्नेछन् ।

छात्रवृति रकम प्रति बिद्यार्थी ५० हजार सम्मको हुनेछ । जसमा मासिक खर्चका लागि प्रति महिना २ हजार नगद वृति समावेश हुने बैंकले जनाएको छ । सानिमा बैक बेसीशहर शाखाले गतबर्ष २ जना बिधार्थीलाई छात्रवृति प्रदान गरिसकेको छ । 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update