TagaroNews
लमजुङ–मनाङ सडक कालोपत्रको तयारी
बेसीशहर-चामे सडकको निरिक्षण गर्दै संघीय सांसद टेक बहादुर गुरुङ ।

लमजुङ – लमजुङदेखि हिमालपारीको जिल्ला मनाङ जोड्ने सडक कालोपत्रसहित स्तरोन्नती गर्ने तयारी गरिएको छ । हिउँदमा हिउ र बर्षातमा बाढिपहिरोका कारण बर्षेनी जोखिममा रहेको यस सडकलाई चालु आर्थिक वर्ष देखिनै स्तरोन्नती सुरु गर्ने तयारी गरिएको हो ।

मनाङबाट निर्वाचित प्रतिनिधी सभा सदस्य टेकबहादुर गुरुङले मनाङ प्रवेश गर्ने एउटैमात्र सडक जोखिमपुर्ण हुँदा बर्षेनी स्थानियले दुःख पाएको भन्दै सडक स्तरोन्नतीको कामलाई विशेष प्राथमिकतामा राखेर अघि बढेको बताए । नेपाल सरकार र अन्य सरोकारवाला निकायसँगको साझेदारीमा सडक कालोपत्रसहित स्तरोन्नतीका लागि प्रक्रिया अघि बढेको उनले बताए ।

सडक निर्माण तथा स्तरोन्नतीका लागि सांसद गुरुङकै पहलमा सरोकारवाला निकायका प्रतिनिधीसँगै स्थलगत अनुगमन समेत भएको छ ।

सांसद गुरुङको नेतृत्वमा गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजंङ गुरुङ, सडक डिभिजन कार्यालय दमौली, डुम्रे बेसीशहर चामे सडक योजनाका प्रमूख, मनाङ जिल्लामा निर्माणाधिन मर्स्याङ्दी जलविद्युत आयोजनाका प्रतिनिधी, मनाङका सुरक्षा निकाय, स्थानिय तह जनप्रतिनिधीहरुसहित लमजुङको बेसीशहरदेखि मनाङको चामे गाउँपालिका अन्तर्गत तिमाङ झरनासम्मको सडक निरिक्षण भएको हो ।

स्थलगत अवलोकनपछि सांसद गुरुङले सडक स्तरोन्नतिको प्रक्रियासँगै र वर्षाले क्षति गरेको स्थानमा तत्कालै सडक मर्मत गरेर सवारी साधन आवागमन सुचारु गराउन आग्रह गरे । सडक अवरोध हुँदा मनाङका स्थानियसँगै पर्यटकहरुले समेत दुःख पाउने गरेको भन्दै उनले अस्थायीरुपमै भएपनि यातायात सहज बनाउनुपर्नेमा जोड दिए ।

सडकको निरिक्षणका क्रममा सरोकारवालासँग संघीय सांसद गुरुङ ।

केहि दिन अघिमात्रै मनाङको सडक समस्याका बारेमा संसदमा प्रधानमन्त्रीलाई प्रश्न गरेका सांसद गुरुङले अब मनाङको विकास, मनाङे जनताको खुशीका लागि पहिलो प्राथमिकतामा सडक भएको र त्यसलाई जसरीपनि पुरा गर्ने उल्लेख गरे ।

भौगोलिक विकटताको बाबजुत मनाङ सडक पक्की बनाउने सन्दर्भमा सांसद गुरुङकै पहलमा मनाङमा निर्माणाधिन जलविद्युत आयोजनाहरु पनि सहकार्य गर्न तयार भएका छन् । हाल निर्माणाधिन अवस्थामा रहेको मस्र्याङदी जलविद्युत आयोजना लमजुङ–मनाङ सडक निर्माणका लागि सहकार्य गर्न तयारी भईसकेको र अन्य आयोजनासँग पनि संयुक्त छलफलको तयारी भएको सांसद गुरुङले बताए ।

सांसद गुरुङले स्थलगत अवलोकनका क्रममा सडक विस्तार एवं मनाङको विकास निर्माणका सन्दर्भमा मनाङको ताल गाउँ, धारापानी गाउँ लगायतका स्थानीयसँग छलफल एवं परामर्श पनि गरे । निकट भविष्यमा ठोस परिणाम ल्याउने गरी काम गर्ने सांसद गुरुङको भनाई छ । 

सडक स्तरोन्नतीबारे सरोकारवालाहरुसँग छलफल गर्दै सांसद गुरुङ ।

आगामी दशैँ तिहार लगत्तै जलविद्युत आयोजनाको तर्फबाट सडक निर्माणको काम अघि बढाउने मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाका उप महाप्रबन्धक प्रतिकमान सिंह प्रधानले बताए । जिल्लामा रहेका जलविद्युत आयोजना, सडक विभाग, स्थानीय तह र स्थानीय मिलेर काम गरेमा सडक कालोपत्रसहित स्तरोन्नति छिटै हुने उनको भनाई छ ।

सांसद टेक बहादुर गुरुङ, गण्डकी प्रदेश सदस्य मुनिन्द्रजङ गुरुङ लगाएत नासों गाउँपालिकाका प्रमुख, उपप्रमुख, जलविद्युत आयोजननाका प्रतिनिधिहरुसँग स्थलगत अवलोकन पश्चत सडक स्तरोन्नति र कालोपत्र गर्नका लागी माग गरेको खण्डमा सहमति दिने डुम्रे बेसीशहर चामे सडक योजनाका इन्जिनियर किरण पोखरेलले बताए ।

मनाङ जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप विसं २०५१ देखि सडक डिभिजन कार्यालय तनहुँले निर्माण सुरु गरेको थियो । विविध कारण निर्माण रोकएपछि विसं २०५७ देखि तत्कालीन नेपाली सेनाले सडक निर्माणको जिम्मा पाएको थियो । ६५ किमी रहेको यस खण्डअन्तर्गत लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी पर्दछ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update