TagaroNews
कांग्रेस–एमालेबीच सत्ता गठबन्धनको सहमति
फाइल तस्बिर ।

काठमाडौं - नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि गठबन्धन गर्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सत्ता गठबन्धनका लागि सोमबार राति सहमति भएको छ । ओली–देउवाबीच आलोपालो प्रधानमन्त्री बन्ने पनि सहमति जुटेको छ ।

दुई दलबीच एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने गरी सहमति जुटेको हो । दुई दलबीच भएको सहमतिमा ओली नेतृत्वको सरकारमा एमालेले अर्थसहित ९ मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने सहमति जुटेको छ ।

यस्तै एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने, कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने ओली–देउवाबीच सहमति बनेको छ ।

यस्तै दुई दलबीच निर्वाचन प्रणालीलगायतमा संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने सहमति पनि भएको छ ।

कांग्रेस र एमालेका नेताहरूबीच सोमबार राति भएको छलफलपछि एउटा सहमतिको खाका तयार भएको र त्यसलाई अन्तिम रुप दिने तयारीका लागि नेताहरु आपसी छलफलमा जुटेको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । 

यस्तै प्रतिपक्षमा रहेका दलहरूलाई छलफलमा बोलाउनका लागी साँझ कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा छलफल गरिने भएको छ । छलफलमा राप्रपा, जनमोर्चा, लोसपा, जसपालाई बोलाउने तयारी रहेको कांग्रेस सहमहामन्त्री भिष्मराज आङ्देबेले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update