
भानु – तनहुँको भानु नगरपालिका–११ रुपाकोट फेदि स्थित कालिका पञ्चायन मन्दिर संरक्षण समितिलाई वाध्यवाधन सामाग्री र धार्मिक पुस्तक सहयोग प्राप्त भएको छ ।
भानु नगरपालिकाको सामाजिक विकास शाखाले यस मन्दिर संरक्षण समितिलाई ८० हजार रुपैँया बराबरको वाध्यवाधन सामाग्री र धार्मिक पुस्तक उपलब्ध गराएको हो । समितिको माग अनुरुप भाषा, धर्म, संस्कृति प्रवर्द्धन कार्यक्रम अन्तर्गत सो सामाग्री र पुस्तक उपलब्ध गराइएको नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख कृपाहरी लौडारीले बताए ।
मन्दिर संरक्षण समितिलाई १५ थान वाध्यवाधन सामाग्री र १६ थान धार्मिक पुस्तक प्राप्त भएको समितिले जनाएको छ । समितिलाई हारमोनियम, मादल, गितार, सारङ्गी, बासुरी, मुजुरा, खैजडी लगाएतका वाध्यवाधन सामाग्री प्राप्त भएको छ ।
मन्दिर संरक्षण समिति मार्फत हुने विभिन्न धार्मिक, सास्कृतिक गतिविधि, भजन, कृत्तन लगाएतका कार्यमा यस सामाग्री र पुस्तकले ठूलो सहयोग मिल्ने भन्दै समितिले जनाएको छ । यस सहयोग प्रति समितिले नगरपालिकालाई धन्यवाद समेत ज्ञापन गरेको छ ।