TagaroNews
लमजुङ पहिरो अपडेटः बेपत्ता ४ जनाकै शव भेटियो
बेपत्ता शवको खोजिकार्यमा रहेका स्थानीय र प्रहरी ।

लमजुङ – लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका ४ जनाकै शव फेला परेको छ । प्रहरीका अनुसार पहिरोमा परी बेपत्ता भएकामध्ये ६९ वर्षीय रूद्रमान गुरुङको शव केहि घण्टा अघि फेला परेकोमा बाँकी ३ जनाको शव समेत फेला परेको हो । 

पच्युटोलमा गएराती मध्यरातमा गएको पहिरोमा परी बेपत्ता मध्य रुद्रमानकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू ७ वर्षीया इच्छा र ५ वर्षकी नम्रता गुरूङको शब फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए । प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरुको शव निकालेका हुन् ।

पच्युटोलमा गए राति पहिराले ३ घर पुरिँदा ४ बेपत्ता भएका थिए भने एकजना घाइते  भएका थिए । बेपत्ता भएकाहरुको खोजीमा बुधबार बिहानैदेखि स्थानीय र प्रहरी खटिएका थिए । 

लगातारको वर्षासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । पहिरोले ३ वटा घर बगाएर ३ सय मिटर तलसम्म पुगेको र बिहानैदेखि बर्षा जारी रहेकाले खोजी कार्यमा कठिनाइ भएको प्रहरीको भनाई छ । 

यो सँगै पहिरोमा परी लमजुङमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । गएराती पहिरोमा परी दोर्दी गाउँपालिका-९ धैरेनीटोल सुनारगाउँका १६ बर्षीय विकल सुनारको समेत मृत्यु भएको छ ।


यो पनि..

लमजुङ पहिरो अपडेटः बेपत्ता वृद्धको शव भेटियो

लमजुङको बगुममा पहिरोले घर बगायो, एकै परिवारका ४ बेपत्ता

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update