TagaroNews
ओमानसँग अभ्यास खेल खेल्दै नेपाल
फाइल फोटो

काठमाडौं- नेपाल एसिसी प्रिमियर कपअघि शनिबार ओमानसँग एकदिवसीय अभ्यास खेल खेल्दै छ। खेल बिहान ९:३० बाट टियु क्रिकेट मैदानमा सुरु हुनेछ। अभ्यास खेल खेल्दै नेपाल आफ्नो बलियो सुरुवाती ११ को परीक्षणमा रहँदा ओमान पनि सोही लक्ष्यका साथ मैदानमा उत्रिने छ।

बन्द प्रशिक्षणमा रहेका २१ सदस्य टोलीबाट आवश्यकता अनुसार खेलाडी प्रयोग गर्ने सोचमा नेपाल रहेको छ। अभ्यास खेल भएकाले यो खेलले कुनै पनि अन्तर्राष्ट्रिय मान्यता भने पाउने छैन। नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्ने छन्।प्रतियोगिताका लागि नेपालले आफ्नो अन्तिम १४ सदस्य टोली घोषणा गरेको छैन।

ओमान भने आफ्नो फाइनल १४ सदसिय टिमसहित नेपाल आएको छ। आइसिसी विश्वकप लिग २ मा ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा स्थान बनाइसकेका छन्। नेपालले पछिल्ला १२ मध्य ११ खेलमा जित निकाल्दै इतिहासकै उत्कृष्ट लयमा रहेको छ।

एसिसी प्रिमियर कप ५ देखी १८ वैशाखसम्म टियु र मुलपानी मैदानमा हुँदै छ। समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन्। समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। नेपालले तीन खेल टियुमा खेल्दा एक खेल मुलपानीमा खेल्ने छ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update