
लमजुङ - लमजुङमा पहिरोले घर बगाउँदै एकै परिवारका ४ जना बेपत्ता भएका छन् । गएराति करिब १ बजेतिर गएको पहिरोले क्व्होलासोथार गाउँपालिका–३ बगुममा ३ वटा घर बगाउँदा २ घरका ४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परी ६९ वर्षीय रुद्रमान गुरुङ, उनका बुहारी ३७ वर्षीया पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू ७ वर्षीया इच्छा र ५ वर्षीया नम्रता बेपत्ता भएको लमजुङका प्रहरी प्रमुख डिएसपी मिन बहादुर घलेले जानकारी दिए ।
पहिरोमा परेर अन्दाजी ३६ वर्षीय भीमबहादुर घले घाइते भएका छन् । प्रहरीका अनुसार पहिरोमा परेर बेपत्ता भएकाको खोजी भइरहेको छ । बेपत्ताको खोजीमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठको नेतृत्वमा र अस्थायी प्रहरी पोष्ट मालिङबाट प्रहरी खटिएका छन् ।
निरन्तर पानी परिरहेकाले खोजीकार्यमा समस्या भएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।