TagaroNews
रूसी सेनामा कार्यरत लमजुङका एक युवकको मृत्यु
मृत्यु भएका २० बर्षीय सन्देश थापा ।

लमजुङ – रूसी सेनामा कार्यरत लमजुङका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेसीशहर नगरपालिका–२ पाखाथोक घर भई सुन्दरबजार नगरपालिका–९ पैरे बस्दै आएका २० बर्षीय सन्देश थापा रहेका छन् ।  

सन्देश गत कात्तिकमा रुसी सेनामा गएका थिए । सन्देशको जेठ २२ मंगलबारको दिन मृत्यु भएको खबर उनीसँगै रहेका साथीहरु मार्फत उनकी आमा ४० बर्षीय सुभद्रा थापा खड्कालाई प्राप्त भएको उनको परिवारले बताएको छ । 

अभियन्ता कृतु भण्डारीका अनुसार सन्देशले केही दिन अगाडिदेखि नेपाल सरकारलाई नेपाल फर्काइदिन बारम्बार आग्रह गरेका थिए । उनी भन्छिन् ‘सन्देशले विना स्वीकृति रुस गएकोमा नेपाल सरकारले जे सजाय दिए पनि नेपालमा आएर भोग्छु तर रुसबाट फर्काइदिनु भनेका थिए ।’ 

समयमै उनलाई नेपाल सरकारले उद्धार गर्न नसक्दा उनको मृत्यु भएको छ । मृत्यु भएका सन्देशको नेपाली हिन्दु संस्कार अनुसार काजक्रीया भैरहेको उनका बुबा रामचन्द्र थापाले बताए । सन्देशको बाबु आमा र एक भाइ रहेका छन् ।

उनीसहित हालसम्म रुसी सेनामा कार्यरत ४४ नेपाली नागरिकको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update