TagaroNews
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
प्रदेश सभा बैठकमा विश्वासको मत लिँदै मुख्यमन्त्री पाण्डे ।

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । सोमबारको प्रदेश सभा बैठकमा माओवादीको चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले फ्लोरक्रस गरेपछि पाण्डेलाई विश्वासको मत प्राप्त भएको हो ।

पाण्डेका पक्षमा ३१ सांसदले मत दिएकाले विश्वासको मत प्राप्त भएको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे । एमालेका २२ र माओवादी ६ सहित २८ सांसदले पाण्डेले मागेको विश्वासको प्रस्तावका विपक्षमा मत हालेका छन् ।

राप्रपाका २, माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र मनाङबाट स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरी फेरि स्वतन्त्र हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे)को मत आफ्नो पक्षमा पार्दै मुख्यमन्त्री पाण्डेले  बहुमत प्राप्त गरेका हुन् ।

देवकोटाले फ्लोर क्रस गरेपछि विपक्षी दल नेकपा एमालेका नेता खगराज अधिकारीसहितले प्रदेशसभा बैठकमा नाराबाजीसमेत गरेका थिए । विश्वासको मतको पक्षमा देवकोटाले मत हाल्न गएपछि एमाले सांसदहरूले नाराबाजी गरेका थिए । उनीहरुले फ्लोर क्रस गर्नु संसदीय विकृति भएको भन्दै प्रदेश सभामा नाराबाजी गरे ।

साथै स्वतन्त्र सांसद मनाङेले पनि प्रतिपक्षीको कित्ता फेरेर सत्तापक्षमा पुगेका हुन् । यसअघि उनी प्रतिपक्षी कित्तामा थिए ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update