
बेसीशहर - लमजुङमा हराएको एक मोटरसाईकल दुर्घटना भएको अवस्थामा फेला परेको छ । मोटरसाईकल चालक भने, बेखबर छन् ।
ग९प ७१७२ नम्बरको १८० सीसी पल्सर मोटरसाईकल बेसीशहर–खुदी सडक खण्ड अन्तर्गत बेसीशहर नगरपालिका–६ बेलौतीबिसौनीको घुम्तीमा दुर्घटना भएको अवस्थामा फेला परेको हो ।
उदयपुर जिल्ला घर भई हाल मर्स्याङ्दी गाउँपालिका–९ बगैँचा स्थित ढुङ्गा कटिङ व्यवसायमा काम गर्दै आएका २६ बर्षीय खगेन्द्र राईको मोटरसाईकल गएराती पार्कीङ गरेको ठाउँबाट हराएको थियो । सोहि मोटरसाईकल बेलाउती बिसौनीमा दुर्घटना गराएर चालक फरार रहेको प्रहरीले जनाएको छ ।
खगेन्द्र राईले सोमबार साँझ ८ बजेतिर घर नजिकै सो मोटरसाईकल पार्कीङ गरेका थिए । दुर्घटना भएको अवस्थामा रहेको मोटरसाईकल स्थानीयले देखेपछि बिहानमात्र प्रहरीलाई खबर गरेका थिए ।
दुर्घटना स्थान वरपर खोजी गर्दा कोहि व्यक्ति फेला नपरेको र घाईते अवस्थामा अस्पतालमा समेत कोहि व्यक्ति नआएकाले यस विषयमा थप खोजी तथा अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक थानेश्वर चपाईले बताए ।
यसअघि सोहि स्थान नजिकै मोटरसाईकल वर्कशपबाट मोटरसाईकल चोरी गर्ने दुई युवालाई भने, लमजुङ प्रहरीले पक्राउ गरेको थियो ।