TagaroNews
मनाङमा पर्यटन तथा उद्योग कार्यालयको सार्वजनिक सुनुवाई

चामे – हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा पर्यटन तथा उद्योग कार्यालय मनाङको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशको आयोजनामा बैशाख १८ गते मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशका सचिव यमुना प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मनाङका प्रमुख चिन बहादुर घलेको प्रमुख आतिथ्यता रहेको थियो । 

नागरिक समाज संचार नेटवर्कको सहजीकरणमा भएको कार्यक्रममा उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव कुमानसिंह गुरुङको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सार्वजनिक सुनुवाईको औचित्य र उद्देश्य माथि नागरिक समाज संचार नेटवर्कका कार्यक्रम अधिकृत राजेन्द्र कोइरालाले प्रकाश पारे । कार्यक्रममा पर्यटन तथा उद्योग कार्यालय मनाङका प्रमुख ऋषिराम पौडेलले आर्थिक बर्ष २०७९।०८० मा कार्यालयले संचालन तथा सम्पन्न गरेका कार्यक्रम, योजना, तथा सार्वजनिक सेवाप्रवाह लगायतका बारे प्रस्तुत गरेका थिए । कार्यालय प्रमुख पौडेलको प्रस्तुतिकरणमा कार्यालयको प्रगती विवरणसहित भागेका चुनौती, समस्या, तिनको समाधानका लागि भएका प्रयास, सम्भावना लगायतका बिषय समेत समेटिएका थिए ।

कार्यक्रमको अर्को चरणमा नागरिक समाज संचार नेटवर्कका कार्यक्रम अधिकृत कोइरालाले बहिर्गमन अभिमत र नागरिक प्रतिवेदन संकलन फारमबाट प्राप्त नतिजा सार्वजनिक गरेका थिऐ । ५४ जना सेवाग्राहीसंग गरिएको नमुना सर्वेक्षणका क्रममा नागरिक प्रतिवेदनका लागि हरेक सेवाग्राहीलाई ४६ वटा प्रश्न सोधिएको थियो । जसमा कार्यालयको सेवा प्रवाहको अवस्था, सेवाको सन्तुष्टि, सेवाको नियमितता, सेवाप्रतिको जनविश्वास, सेवाको गुणस्तर, सेवासम्बन्धि जानकारी, नागरिक बडापत्र, उजुरी पेटिका, गुनासो सुन्ने अधिकारीको सम्बन्धमा प्रश्नहरु तयार गरि सेवाग्राहीलाई सोधिएको थियो ।

त्यस्तै सेवाग्राहीसंग सिफारिस लिने, कार्यालयको भौतिक तथा सरसफाईको अवस्था, स्रोत साधन तथा सेवाको पारदर्शिता सम्बन्धमा नमुना सर्वेक्षण गरिएको थियो । त्यस्तै सूचना, जानकारी, कर्मचारीको ब्यवहार, कार्यालयको सवल पक्ष तथा सुधार गर्नुपर्ने पक्षहरु समेत संकलन गरि कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मनाङका प्रमुख चिन बहादुर घलेसहित, अन्य पदाधिकारी, जनप्रतिनिधी, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव यमुना प्रधान, उधोग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङ, प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछाने, होटल ब्यवसायी, पर्यटनकर्मी, उधोग बाणिज्य संघ, संघ, प्रदेश तथा स्थानीय तह मातहत कार्यालयका कर्मचारीहरु, बिभिन्न बैंक तथा वित्तिय संघसंस्थाका कर्मचारी, एक्याप, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधी, कार्यालयबाट सेवा लिएका सेवाग्राही, पत्रकार, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, सामाजिक संघसंस्थाका प्रतिनिधि, सामुदायिक, नीजि वनका पदाधिकारीहरु, विभिन्न स्थानिय टोल विकास संस्थाका पदाधिकारी, सुरक्षाकर्मि, महिला तथा आमा समुह, युवा क्लब लगायतको उपस्थिती रहेको थियो ।

खुला छलफलमा सहभागीहरुले पर्यटन तथा उद्योग कार्यालयको सेवा प्रवाह, सम्पन्न भएका योजना, कार्ययोजना, वितरण गरिएका अनुदानका कार्यक्रम, बजार अनुगमन, उधोग तथा ब्यवसाय दर्ता, नविकरण लगायतका विषयमा आफ्ना गुनासा, समस्या तथा सुझावहरु राखेका थिए । कार्यक्रममा उठेका प्रश्न, जिज्ञासा, गुनासाहरुको जवाफ, सम्बोधन उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङ र पर्यटन तथा उद्याृग कार्यालय मनाङका कार्यलय प्रमुख ऋषिराम पौडेलले गरेका थिए ।

सम्बोधनका क्रममा कार्यालयको सेवा प्रवाह, योजनाको गुणस्तर, योजना कार्यान्वयनका क्रममा कार्यालयसंगको सहकार्य, समन्वय, भोगेका जटिलता, चुनौती र आगामी दिनमा सुधार गर्नुपर्ने पक्ष लगायतका बिषय समेटिएका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update