
बेसीशहर - लमजुङ सदरमुकाम बेसीशहरमा ब्रेक फेल भएको बोलेरो जिप घरभित्र छिर्दा ३ जना घाइते भएका छन् । घाइतेमध्य एकको अवस्था गम्भिर छ ।
बेसीशहर नगरपालिका–७ स्थित तमू संग्रहालयको ओरालोमा ब्रेक फेल भएको जिप क्याम्पस रोडको सृजना श्रेष्ठको घर (आस्मी खाजा घर) को सटरमा छिर्दा खाजा घरमा बसिरहेका ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
मंगलरबार दिउँसो पौने १ बजे दूधपोखरी गाउँपालिका–१ कल्लाबारी माविका २ जना विद्यार्थी र १ जना शिक्षक लिएर तमू संग्रहालयमा आउँदै गरेको ग३च ५०७१ नम्बरको निजी जिप तमू संग्रहालयमा नरोकिई सिधै क्याम्पस रोडको सटरभित्र प्रवेश गरेको हो । जिपमा रहेका शिक्षक र विद्यार्थी भने, सकुशल रहेको प्रहरीले जनाएको छ ।
जिप दुर्घटनामा परी घरधनी ३८ बर्षीय सिर्जना श्रेष्ठ, छिमेकी बेसीशहर नगरपालिका–९ पाखाथोककी अन्दाजी ८० वर्षीय रत्न कुमारी राउत र बुहारीको पसलमा रहेकी ६३ बर्षीय डम्बर कुमारी रोका घाइते भएका छन् । घाइते मध्य रोकाको अवस्था गम्भिर छ ।
श्रेष्ठको बाया हात र टाउकोमा भित्री चोट लागेको छ । घाईते राउतको दाहिने कोखामा भित्री चोट देखा परेको छ । उनीहरुको लमजुङ अस्पतालमा उपचार भैरहेको छ । रोकामगरको ढाड र करङमा गम्भीर चोट (मेरुदण्ड फ्याक्चर भएको र बाँया तर्फको ६ वटा करङ भाँचिएको) देखा परेपछि थप उपचारका लागी वि.एण्ड.वि. अस्पताल काठमान्डौं लगिएको प्रहरी प्रवक्ता प्रहरी निरिक्षक थानेश्वर चपाईले बताए ।
खाजा पसलको सटर र पसल भित्र रहेका अन्य सामानहरुमा ६ लाख बराबरको क्षति पुगेको छ । जिप चालक दूधपोखरी गाउँपालिका–४ नमार्खुका ४१ बर्षिय डिलप्रसाद गुरुङलाई भने, नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।