TagaroNews
श्रीखोला आमा समूह सम्मानित
सम्मानित श्रीखोला आमा समूह ।

लमजुङ- बेसीशहर नगरपालिकाको एक आमा समूह सम्मानित भएका छन् । लमजुङकै पहिलो सामूदायिक रेडियो मर्स्याङदी ९५ मेगाहर्जले आफ्नो १७ औ स्थापना दिवसको अवसरमा बेसीशहर नपा-३ काउलेपानीका श्रीखोला आमा समूहलाई सम्मान गरेको हो ।

स्थापना दिवसको अवसरमा हरेक वर्ष आमा समूहमा आवद्ध भई संस्थागत रुपमा समूदायमा सकरात्मक काम गर्ने र उदाहरणीय काम गर्दै आएका एउटा आमा समूह सम्मान गर्ने कार्यक्रम अन्तर्गत यसवर्ष श्रीखोला आमा समूहलाई विशेष सम्मान गरेको रेडियोकी कार्यकारी निर्देशक मिना गुरुङले बताइन् ।  

वि.सं. २०५२ सालमा स्थापना भएको उक्त आमा समूह विशेषगरी पर्यटन प्रर्वद्धन, सामूहिक व्यवसायिक कृषि, घरेलु हस्तकलाको व्यवसायिक उत्पादन र बजारीकरणमा विगतका वर्षदेखि नै उदाहरणीय काम गर्दै आएको छ । काउलेपानीको पर्यटकिय गन्तव्यको व्यवस्थापन, सरसफाई, गाउँमा सञ्चालित होमस्टेमा पाहुनाहरुको व्यवस्थापन, स्थानिय साँस्कृतिक कार्यक्रमहरु देखाउने तथा स्थानीय उत्पादनलाई पर्यटक सम्म जोड्ने काम गर्दै आएको छ । 

रेडियोद्धारा शुक्रबार आयोजित स्थापना दिवस एवं नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमकै अवसरमा सम्मान पत्र सहित उक्त आमा समूहलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमूख अतिथि गण्डकी प्रदेश सभा सदस्य भेष बहादुर पौडेल र कार्यक्रमका अध्यक्ष एवं रेडियो संञ्चालक समितिका अध्यक्ष गमप्रसाद गुरुङले संयुक्त रुपमा खादा सहित सम्मान पत्र प्रदान गरेका थिए । 

कार्यक्रममा श्रीखोला आमा समूहको कोषाध्यक्ष मिना गुरुङ, सदस्य शान्ति श्रेष्ठ र रेलिमाया गुरुङले संयुक्त रुपमा सम्मान पत्र ग्रहण गरेका थिए । सम्मान पाएसँगै आमा समूहले आफुहरुलाई थप उत्प्रेरण जागेको र समाजका लागि अझै धेरै काम गर्ने हौसला जागेको बताएका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update