TagaroNews
लमजुङमा एचआईभी संक्रमित भएको खुलेपछि विद्यार्थीलाई निष्कासन
मध्यनेपाल नगरपालिका- ४ स्थित भैरवकाली माध्यमिक विद्यालय ।

लमजुङ – लमजुङको मध्यनेपाल नगरपालिकाको एक विद्यालयले एचआईभी संक्रमित भएको खुलेपछि विद्यार्थीलाई निष्कासन गरेको छ । मध्यनेपाल नगरपालिका–४ दुईपिप्ले स्थित भैरवकाली माध्यमिक विद्यालयले वैशाख ६ मा विद्यालय भर्ना भएका एक विद्यार्थीलाई एचआईभी संक्रमीत भन्दै वैशाख २२ गते निष्कासन गरेको हो ।  

अभिभावकले स्थानीय वाल विकासमा पढाउँदै आएका वालिका नाम परिवर्तन विमायालाई ५ बर्ष पुगेपछि भैरवकालीको एल.केजीमा भर्ना गरे । विद्यार्थीका बाबुले भने, ‘भर्ना भएर हाम्रो बच्चा विद्यालय गैरहेकी थिइन् । एक्कासी एकदिन बच्चा पुर्याउन आउने जाने अन्य अभिभावकले यो बच्चा त एचआईभी संक्रमित हो, भनेर हल्ला गरिदिएछन् । सो पश्चात भोलिपल्ट ४, ५ जना विद्यार्थी गएल भए रे । २, ३ दिन हुँदा समेत विद्यार्थी सो कक्षामा गएल भएछन् ।’ उनले थप्दै भने, “विद्यालयले मलाई बोलाएर भन्यो, कक्षामा विद्यार्थी शुन्य भयो भने, कस्ले व्यहोर्छ । वा तिमिहरुको कुनै संस्थाले व्यहोर्छ भन्ने दवाव मुलक प्रश्न गरे । लगत्तै आफुले एचआईभी एड्स सम्बन्धी काम गर्ने विभिन्न संघ, संस्था र व्यक्तिलाई फोन गरी कुरा राख्दा समेत केहि नहुने जस्तो बुझेपछि आफ्नै सुर गरेँ ।”

यस्तो अवस्था आएपछि ३१ बर्षिय बाबु अहिले ति वालिका नाम परिवर्तन विमायालाई जसरी पनि पढाउने अठोटले त्यहाँबाट तनहुँको सदरमुकाम दमौली बसाई सरेका छन् । उनी सहित उनको श्रीमती र वालिका नाम परिवर्तन विमाया एचआईभी संक्रमित छन् । ९ महिनाको छोरामा भने, संक्रमण देखिएको छैन् । 

आर्थिक अवस्था न्युन रहेको उनको परिवार दुईपिप्लेमा आफ्नै घर भएतापनि यस घट्नापश्चात दमौलीमा कोठा भाडामा लिएर बस्न बाध्य छन् । बाबुले भने, ‘यता छोरीको विद्यालय भर्नासँगै, ड्रेस, कापीकलम लगाएतका सामाग्रीमा खर्च गरियो । अहिले विद्यालय नै सार्नुपर्ने र घर नै छाडेर परिवार नै डेरामा बस्नुपर्ने भएपछि झन खर्चको भार थुप्रियो ।’ 

यता भैरवकाली माविका प्रधानाध्यापक हरिश्चन्द्र लम्सालले विद्यार्थीका अभिभावकले आफ्नै हिसाबले अन्यत्र लगेको तर, विद्यालयले निष्कासन नगरेको बताए । 

विद्यालयमा त हरेक किसिमका वालबच्चा आउने गर्छन् । उनीहरुलाई काउनसेलिङ गर्ने पो हो त् भन्ने हाम्रो प्रश्नमा प्रअ लम्सालले भने, ‘त्यो पाटोको विषयमा हामीसँग सबै सुविधा छ । काउनसेलिङका कार्यहरु पनि हुँदै आएका छन् । तर, यो विषयमा साना बच्चाहरु भैझगडा गर्ने, रत्तपात हुने अवस्था आए के होला भन्ने अभिभावकहरुको शंका र स्विकार गर्न गाह्रो हुने अवस्था सृजना भएपछि यस्तो भएको हो ।’

सो संक्रमित वालिकालाई रम्घा भ्याली वोर्डिङ स्कुलले पनि अघिल्लो बर्ष यस्तै समस्या देखाएकै कारण वोर्डिङबाट निकाल्न बाध्य बनाएको अभिभावकको दुखेसो छ । 

यस विषयमा मध्यनेपाल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुर्य पौडेलले विद्यालयले यो किसिमको गतिविधि गर्नै नपाउने बताए । उनले भने, ‘यस विषयमा पटक–पटक विद्यालयलाई निर्देशन समेत गरेको हो । छलफल गर्छु भन्दै टार्ने काम मात्र भएको छ । बरु यस किसिमका बालबालिकालाई अध्ययन गर्न सहज बाताबरण बनाउन पर्नेमा अन्त लैजा खर्च दिन्छु भन्नु विद्यालयको गलत कदम हो । विद्यार्थीको अधिकार मास्न मिल्दैन् ।’

नगरपालिका भित्र अन्य पनि यस्ता वालवालिका तथा बिरामीहरु रहेको भन्दै उनले उनीहरुलाई सहयोग गर्नुपर्ने ठाउँमा यो किसिमको हर्कत गर्नु विद्यालयको गलत कदम रहेकाले यो विषयमा नगरपालिका गम्भिर रहेको बताए । 

०७५ सालमा जारी मुलुकी अपराध संहितामा एचआईभी सार्नेविरुद्ध १० वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ । तर, एचआईभी संक्रमितमाथि विभेद गर्नेलाई कारबाहीको व्यवस्था कहाँसम्म हुन्छ त्यो भने, हेर्न बाँकी नै छ । हामी यस विषयमा थप फलोअप गर्नेछौँ ।  
 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update