TagaroNews
चक्रिय अन्नपूर्ण पदमार्गमा सम्पर्कबिहीन २ भारतीय पर्यटकको सकुशल उद्धार 
सम्पर्कबिहीन टोनी र अमनजोतीलाई हेलिकप्टर मार्फत उद्धार पश्चातको तस्बिर ।

पोखरा – विश्वविख्यात चक्रिय अन्नपूर्ण पदमार्गको पदयात्राको क्रममा अलपत्र परेका दुइजना भारतीय पदयात्रीको सकुशल उद्धार गरिएको छ ।  

७ पुरुष र ३ महिला सहित १० जना भारतीय पदयात्री पर्यटक मनाङ हुँदै थोराङला भज्याङ पार गरेर बुधबार मुस्ताङ तर्फ झर्ने क्रममा २ जना पदयात्री सम्पर्कबिहीन भएका थिए । 

गाइड र सहयोगी गरि ६ जना नेपाली समेत साथमा रहेपनि थोराङला भञ्ज्याङ पार गरेर मुक्तिनाथ झर्ने क्रममा भारत मुम्बईका टोनी पारमर र अमनजोती पारमर बीचमै सम्पर्कबिहीन भएको मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डे बताए ।  

प्रहरीका अनुसार पछाडि परेका २ जना मौसम बिग्रेपछि बीचमै अलपत्र परेको र बुधबार रातभर छाप्रोमा बास बसेका उनीहरुलाई विहीबार बिहान मात्र उद्धार गरिएको हो ।

उनीहरु बुधबार दिउँसोदेखि नै सम्पर्कविहीन थिए । समूहमा रहेका पदयात्री सम्पर्कविहीन भएपछि अरु पदयात्रीले विहीबार बिहान साढे ५ बजे मात्र टेलिफोनमार्फत प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै डिएसपी पाण्डेको नेतृत्वमा ९ जना प्रहरी र नारायण दल गणबाट सुरक्षाकर्मी खोजीमा परिचालन भएका थिए ।

हेलिकप्टरमा गएको टोलीले विहीबार बिहान १० बजे थोराङला भन्दा तल पर्ने मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ को तल्लो टि–सपको छाप्रोमा उनीहरुलाई फेला पारिएको डिएसपी पाण्डेले बताए । उनीहरुलाई हेलिकप्टरबाट उद्धार गरी जोमसोम हुँदै काठमाडौ पठाएको प्रहरीले जनाएको छ ।   

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update