TagaroNews
बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ, क्यानले विश्वकप खेल्न पठाउने

काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत, पाटनबाट सफाइ पाएका छन् ।

जिल्ला अदालत, काठमाडौंको फैसलालाई उच्च अदालतले उल्टाएको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले बताए । उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाएको हो ।

जिल्ला अदालतले गत पुस १३ गते लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद सजाय सुनाएको थियो । उनीलाई तीन लाख जरिवाना र पीडितलाई दुई लाख क्षतिपूर्ति भराउन पनि आदेश दिएको थियो ।

त्यस विरुद्ध लामिछाने उच्च अदालत पुगेका थिए । उनले गत फागुन १० मा पुनरावेदनका लागि निवेदन दिएको थिए । त्यस्तै, सजाय कम भएको भन्दै उच्च सरकारी वकीलको कार्यालय पनि उच्च अदालत पुगेको थियो । उच्च सरकारी वकीलको कार्यालयले गत चैत २ मा पुनरावेदन गरेको थियो ।

दुवै निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले लामिछानेलाई सफाइ दिएको हो । उच्च अदालतले जिल्ला अदालतको कैद सजाय गर्ने फैसला उल्टाएको हो ।

सन्दीप लामिछाने सफाइ पाएसँगै उनलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी–२० विश्वकप २०२४ खेल्न निर्णय नै गरेर अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update