TagaroNews
राइनासमा सूचिकृत बेरोजगारसँग अन्तक्रिया, स्रोत अभावले रोजगारी दिन समस्या
प्रधानमन्त्री रोजगार कार्यक्रमका गतिविधि प्रस्तुत गर्दै संयोजक कुमार गुरुङ ।

राइनास – प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत लमजुङको राइनास नगरपालि भित्र सूचिकृत बेरोजगार र कृषकहरुसँग एक दिने अन्तक्रिया गरिएको छ । 

राइनास नगरपालिकाको सभाहलमा बुधबार डेढ सय बढी सूचिकृत बेरोजगार, कृषक साथै मेयर उद्यमशिल कार्यक्रमका लागि निवेदन दिएका व्यक्तिहरुको सहभागीतामा स्वरोजगारबारे अन्तक्रिया गरिएको हो । 

कार्यक्रममा रोजगार संयोजक कुमार गुरुङले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका गतिविधि प्रस्तुत गरेका थिए । उनले राइनास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गत आर्थिक बर्ष ४ सय ७७ जना युवा युवती बेरोजगारको रुपमा सूचिकृत भएको बताए । जस्मा ६५ जनालाई सय दिन बराबरको अनिवार्य रोजगारी उपलब्ध गराइएको छ । 

यसैबीच गत आवमा राइनासमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ३० वटा योजना निर्माण भएका छन् । यो कार्यक्रमबाट विशेषगरी चौतारा निर्माण, गोरेटो बाटो, पर्खाल निर्माण, कुलो मर्मत, तटबन्धन, सामुदायिक भवनमा चर्पी निर्माण जस्ता काम भएको संयोजक गुरुङले बताए । 

चालु आवमा ३ वटा योजना सञ्चालित अवस्थामा छन् । सूचिकृत बेरोजगारीको संख्या यो बर्ष ४ सय ७० रहेको छ । यो बर्ष ७७ जनालाई रोजगारी दिने लक्ष्य राखिएको योजना संयोजक गुरुङले प्रस्तुत गरे । 

प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारीको प्रत्याभूति गर्ने, दक्ष तथा सक्षम जनशक्ति विकास गरी आन्तरिक रोजगारीको प्रवद्र्धन, नीजि क्षेत्रसँग सहकार्य गरी बेरोजगारी न्युनिकरण, रोजगार केन्द्रित आवश्यक नीतिगत र संरचनात्मक व्यवस्था गर्ने र सार्वजनिक पूर्वाधारहरूको निर्माण, स्तरोन्नति र विस्तारमा योगदान गर्ने उद्देश्य राखिएको छ । सोहीअनुसार स्थानीयतहमा रोजगारी प्रदान गर्नु पहिले बेरोजगार सूचिकृत गर्ने प्रावधान छ । 

सरकारले आफै सूचिकृत गरेका युवा युवतिलाई रोजगारी दिन नसकेकै कारण नेपालबाट युवा पलायन थामी नसक्नु छ । तर, राइनास नगरपालिका प्रमुख खड्ग बहादुर गुरुङले पालिकाका विभिन्न कार्यक्रम र विकास निर्माणमा सूचिकृत बेरोजगार युवालाई प्राथमिकता दिने गरेको बताए । स्रोत अभावले सूचिकृत भएका सबैलाई रोजगारी दिन नसकिने समस्याले गर्दा अन्य विकास निर्माणमा छुटेका युवालाई जोड्ने प्रयास गरिरहेको बताए । 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेलले सरकारले सूचिकृत भएका सबै युवालाई न्यूनतम सय दिनको रोजगारीमा खटाउने नीति र बजेटको व्यवस्थापन गरेमा सहज हुने बताए । 

कार्यक्रममा राइनास स्थित एनएमवी बैँक शाखाका कृषिविज्ञ राजीव न्यौपाने र आईटीविज्ञ सुवास भट्टाराईले बैँकको खेतीकर्जाको विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए । सो अवसरमा पालिकाको पशुपन्छीशाखाले गाई तथा भैसीपालन किसानहरुलाई ५० प्रतिशत छुटमा सय वटा काउम्याट र ६ वटा च्यापकटर समेत वितरण गरेको छ । 

गाई र भैसीपालन किसानलाई काउम्याट र च्यापकटर वितरण गरिदै ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update