
पोखरा – निर्वाचन सकिएको २ वर्षपछि तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।
०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पराजित भएपछि स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा मुद्दा दर्ता गराएका थिए ।
अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको मंगलबारको इजलासले जोशीले दिएको रिटमा पुनः मतगणना गर्न आदेश दिएको हो ।
कांग्रेसका पूर्व सहमहामन्त्री तथा सरकारका पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा दीपकराजलाई हराउँदै नेपाली कांग्रेसका नेता वैकुण्ठ न्यौपाने व्यास नगरपालिकाको मेयरमा दोस्रो पटक विजयी भएका थिए । निर्वाचनमा धाँदली भएको भन्दै जोशीले उच्चमा मुद्दा हालेका थिए ।
वडा नम्बर १ देखि ८ सम्म जितेको परिणाम सुनाइएको र वडा नम्बर ९ देखि १४ सम्म विपक्षको योजनामा षड्यन्त्रपूर्वक आफ्नो विपक्षमा परिणाम निकालिएको उनको आरोप थियो ।
कांग्रेसका बैकुण्ठनाथ न्यौपाने दुई सय ५२ मतान्तरले बिजयी भएका थिए । न्यौपानेले १२ हजार ७८ र पराजित जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए ।