
बेसीशहर – लमजुङ सदरमुकाम बेसीशहरमा सञ्चालित केहि मासु पसलमा जिल्ला प्रशासन कार्यालयले छड्के अनुगमन गरेको छ । अनुगमनका क्रममा केहि मासु पसलमा लामो सयम फ्रिजमा राखेको मासु सडेको, खोरमै कुखुरा मरेका, विना सरसफाई मासु काट्ने देखी बेच्ने सम्मका गतिविधि फेला परेको प्रशासनले जनाएको छ ।
होलसेल मासु व्यापारीहरुले अव्यवस्थित ढंगले पशु वधशाला चलाउने, मासु काटदा समान्य सरसफाई देखी एप्रोन समेत प्रयोग नगर्ने लगाएतका गतिविधि फेला परेपछि प्रशासनले आवश्यक निर्देशन सहित जरिवाना गरेको छ । सोमबार २० औं शृङ्खला अन्तर्गत प्रशासनले ११ वटा मासु पसलमा अनुगमन गरेको हो ।
बेसीशहर नगरपालिका–७ स्थित सगुन संगम इन्टरप्राइजेजको कुखुराको खोरमा अनुगमनकै क्रममा केहि कुखुरा मरेका फेला परे । यस्तै मासु राख्ने डिफ्रिज हेर्दा लामो समयदेखी सडेको मासु रहेको फेला परेको र सरसफाईमा समेत कमजोरी देखेपछि आवश्यक निर्देशन सहित ५ हजार जरिवाना गरिएको अनुगमन संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयलले बताए ।
सगुन संगम इन्टरप्राइजेजको डिफ्रिजमा फेला परेको सडेको मासु ।
यस्तै बेसीशहर नगरपालिका–८ स्थित डि.के.सप्लार्यसमा कुखुरा पालन र वधशाला मापदण्ड अनुरुप नभएको, कुखुरा काट्ने तथा वनाउने ठाउँमा सरसफाई र आवश्यक एप्रोन लगाएतका सामाग्री प्रयोग नभएको पाइएपछि तत्काल व्यवस्थित गर्ने निर्देशन सहित ५ हजार जरिवाना गरिएको छ ।
आवश्यक सरसफाई र मापदण्ड नपुगेको डि.के. सप्लार्यस ।
बेसीशहर–८ स्थित रहेको मिलापको बंगुर फ्रेस हाउसमा समेत फ्रिजमा लामो समयदेखी सडेको मासु फेला परेको छ । यस्तै उचित सरसफाई नदेखिएपछि आवश्यक निर्देशन सहित ५ हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सर्वसाधारण जनताको स्वास्थ्य र हितलाई मध्यनजर गर्दै मासु जन्य पदार्थमा स्वस्थता तथा मासुको स्वभाविक गुण विग्रन नदिई उपयुक्त स्तर कायम राख्न निर्देशन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुयलले बताए । उनका अनुसार अन्य मासु पसल तथा वधशालाको अनुगमनलाई निरन्तरता दिइनेछ ।
बजार अनुगमनलाई तिब्र गतिमा अगाडि बढाइरहेको प्रशासनले अब हप्ताको १ दिन अनिवार्य रुपमा बजार अनुगमन गर्ने समेत जनाएको छ । सो बजार अनुगमनका क्रममा जिल्ला प्रशासन, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङ, पर्यटन तथा उधोग कार्यालय, प्रहरी, सञ्चारकर्मी लगाएतको उपस्थिति थियो ।