TagaroNews
फलोअप–२ : मर्स्याङ्दी क्याम्पस प्रमुखको कर्तुतमाथि प्रहरी प्रशासन मौन 
मर्स्याङ्दी बहुमुखी क्याम्पस । 

लमजुङ – लमजुङको मर्स्याङ्दी बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखले गरेका कर्तुतबारे प्रसस्त प्रमाण भेट्दा समेत प्रहरी प्रशासन कारबाहिको साटो उल्टै मौन बसेको पाइएको छ ।  स्नातकोत्तर तहको परीक्षा सञ्चालनमा प्रहरीको किर्ते हस्ताक्षर र फर्जी बिल भरपाई बनाई रकम बुझिलिएको प्रमाण बाहिरी सक्दा पनि प्रहरीले सामान्य सोधपुछ बाहेक कुनै कारवाही अगाडी बढाएको छैन् । 

गत चैत १४ गते मर्स्याङ्दी क्याम्पसमा प्रहरीको रोहवर विना खोलिएको प्रश्नपत्र किनबेचको आशंका  र चैत २६ गते फलोअप : क्याम्पस प्रमुखको धन्दा, प्रहरीको किर्ते हस्ताक्षर देखि फर्जी बिलसम्म शिर्षककको समाचार तगारो न्यूजमा प्रकाशित भएको थियो । यस विषयमा क्याम्पस सञ्चालक समितिले नै जिल्ला प्रशासन कार्यालय देखी प्रहरीलाई समेत पत्र लेख्दै आवश्यक छानविन सहित कारबाहिको माग गरेको थियो । 

क्याम्पस सञ्चालक समितिले जिल्ला प्रशासनलाई लेखेको पत्र ।

तगारो न्युजले प्रमाणसहित समाचार प्रकाशित गरेपछि यो विषय सबैको चासोको विषय बन्यो । यस विषय सुरक्षा निकायमा समेत चर्चाका विषय बने । परीक्षामा प्रहरीको नै किर्ते हस्ताक्षर सहितको फर्जी बिल बनाएर रकम झ्वाम पार्ने कुराले प्रहरी संगठनमा समेत प्रश्न खडा गरायो । लगत्तै जिल्ला प्रहरी कार्यालय लमजुङको अपराध अनुसन्धान तथा कारवाही शाखाले गत चैत २२ मा क्याम्पसलाई पत्र लेख्दै ५ बुँदे लिखित जवाफ माग गर्यो । 

जिल्ला प्रहरी कार्यालय लमजुङले क्याम्पसलाई लेखेको पत्र ।

प्रहरीले क्याम्पसलाई लेखेको पत्रमा कुन तहको परीक्षा सञ्चालन गरिएको र सो परीक्षामा सुरक्षाकर्मी माग गरिएको भए क्याम्पसको के कति चलानी नं. र मितिको पत्रद्धारा कुन कार्यालयलाई सुरक्षाकर्मी माग गरेको खुलाउन भनिएको छ । यस्तै कति प्रहरी खटे, तीनका नाम थर र दर्जा, खटेका सुरक्षाकर्मीलाई सुरक्षा भत्ता उपलब्ध गराएको भए रकम बुझे बुझाएको भरपाईको प्रतिलिपि, परीक्षा सञ्चालनमा आवश्यक पर्ने प्रश्नपत्रहरु के कहाँ भण्डार गरिएको बारे लिखित जवाफ माग्यो । 

प्रहरीले मागेको जवाफमा क्याम्पस सञ्चालक समिति र क्याम्पस प्रमुखले पठाएको जवाफ नै बाझिएको देखिन्छ । जुन जवाफले झन् क्याम्पसका आन्तरिक गतिविधि कति सम्म गैरकानुनी र गैरजिम्मेवार ढंगले चलेको छ त भन्ने प्रश्न उब्जाएको छ । 

क्याम्पस प्रमुख एवं केन्द्राध्यक्ष हरिबावु थापाले प्रहरीलाई पठाएको जवाफ पत्रमा भनिएको छ । ‘मैले केन्द्राध्यक्षको हैसियतमा त्रि.वि व्यवस्थापन संकाय डिनको कार्यालयमा कुनै पनि सुरक्षाकर्मीको नाम पठाएको पनि छैन, खर्च लेखाएको पनि छैन् । त्यस कार्यालयबाट वास्तविक विवरण बुझ्दा कुनै फरक नपर्ने व्यहोरा अवगत गराउन चाहन्छु ।’

क्याम्पस प्रमुख एवं केन्द्राध्यक्ष थापाले प्रहरीलाई पठाएको जवाफ पत्र ।

यता क्याम्पस सञ्चालक समितिले भने, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय तथा डीनको कार्यालयद्धारा सञ्चालित कुनै पनि परीक्षामा केन्द्राध्यक्षले सुरक्षकर्मी माग गरेको नदेखिएको लिखित जवाफ दिएको छ । जवाफमा क्याम्पसले भनेको छ् ‘प्रश्नपत्र तथा उत्तर पुस्तिका नजिकैको प्रहरी कार्यालयमा भण्डार गर्नुपर्ने प्रावधान भएता पनि सो नगरेको भेटियो र के कसरी सो कागजातहरु भण्डार गरिएको समेत हामीलाई जानकारी छैन् ।’

क्याम्पस सञ्चालक समितिले प्रहरीलाई पठाएको जवाफ पत्र ।

क्याम्पसमा ०६७/०६८ बाट स्नातकोत्तर तह मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तर्गत समाजशास्त्र, शिक्षाशास्त्र संकाय अन्तर्गत पाठ्यक्रम तथा मूल्याङ्कन विषय र व्यवस्थापन संकाय अन्तर्गत एम.वि.एस.को परीक्षा सञ्चालन हुँदै आएको छ । 

थप जवाफमा क्याम्पसले त्रिभुवन विश्वविद्यालय ऐन र परीक्षा नियन्त्रण कार्यालय बल्खुको नियमानुसार यस क्याम्पस केन्द्रमा सञ्चालन भएको प्रत्यक बर्षिक परीक्षा अन्तर्गत स्नातकोत्तर तह एम.ए.(समाजशास्त्र), एम.एड.(पाठ्यक्रम तथा मुल्याङ्कन), स्नातक तह एक बर्षे वि.एड., ४ बर्षे वि.एड. ४ बर्षे वि.वि.एस. र तीन बर्षे वि.ए. मा प्रहरी सुरक्षाकर्मी भत्ता वापत भनि परीक्षा नियन्त्रण कार्यालय र डीन कार्यालयबाट बुझिलिएको यथार्थ विल भपाई सहितको विवरण यस क्याम्पसमा नभेटिएको बताएको छ । 

परीक्षामा प्रहरी सुरक्षा कर्मीको जिम्मामा प्रश्नपत्र राख्नुपर्ने, प्रहरीको रोहवरमा मुचुल्का खोलिनुपर्ने, शिलबन्धी गरी उत्तर पुस्तिका प्रहरी कार्यालयमा नै राख्नुपर्नेमा कुनैपनि परीक्षामा सो कार्य नगरेको समेत क्याम्पस सञ्चालक समितिको दावी छ । 

यस विषयमा प्रमुख जिल्ला अधिकारी बुद्धि बहादुर गुरुङसँग बुझ्दा उनले भने, ‘हामीलाई क्याम्पस सञ्चालक समितिले पत्र पठाएसँगै हामीले आवश्यक छानविन र प्रमाण जुटाउन प्रहरीलाई जिम्मा दिएको हो । सो विषयमा अनुसन्धान भैरहेको छ । यस विषयमा अख्तियारले पनि छानविन गरिरहेको छ ।’

यता जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरिक्षक थानेश्वर चपाईका अनुसार प्रहरीले यस विषयमा सरकारी वकिलहरुसँग परामर्श लिने देखी कानुनी किताव हेर्नेसम्मको काम गरिरहेको बताए । उनले भने, ‘प्रहरीले पनि अनुसन्धान गरिरहेको छ । अख्तियार पनि आफनो हिसाबले अनुसन्धानमा लागेको छ ।’

यसरी प्रहरीको आँखामा धुलो छ्यापेर गरेको गतिविधिबारे प्रमाण नै बाहिरिएको र जवाफ माग्दा समेत क्याम्पस सञ्चालक समिति र क्याम्पस प्रमुखले फरक–फरक जवाफ दिँदा र क्याम्पस समितिले प्रमाण समेत पेस गराउँदा प्रहरीले तत्काल कारबाहिको साटो मुकदर्शक बन्नुले थप प्रश्न खडा गरेको छ । यो विषयमा हामी निरन्तर फलोअप गर्नेछौँ । 

यो पनि..

फलोअप : क्याम्पस प्रमुखको धन्दा, प्रहरीको किर्ते हस्ताक्षर देखि फर्जी बिलसम्म

मर्स्याङ्दी क्याम्पसमा प्रहरीको रोहवर विना खोलिएको प्रश्नपत्र किनबेचको आशंका

लमजुङको मर्स्याङ्दी क्याम्पसमा भएको भ्रष्टाचारबारे ‘अख्तियारको आँखा’

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update