
पोखरा – पोखरा क्षेत्रमा ‘मुख्यमन्त्रीको पिए हुँ’ भनेर ठग्दै हिड्ने एक युवकलाई प्रहरीले काठमान्डौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका– ३१ बस्ने २८ बर्षिय सुवास सुवेदी रहेका छन् ।
वैशाख २० गते सुवेदीले पोखरास्थित एउटा टुर्स एण्ड ट्राभल्स प्रालीमा फोन गरेर ‘म मुख्यमन्त्रीको पिए हुँ, तुरुन्तै मलाई पोखराबाट काठमान्डौं र काठमान्डौंबाट नेपालगञ्जको हवाई टिकट पठाइदिनु भनेर फोन गरेका थिए ।
टिकट काट्न लगाएर यात्रा गरेपनि उनले ट्राभल्सलाई पैसा नदिएर ठगेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले बताए । एसपी थापाका अनुसार सुवेदीले वडा प्रहरी कार्यालय बैदामका डीएसपीलाई पनि फोन गरेर ‘बालुवाटारबाट बोलेको हुँ’ भन्दै अभद्र व्यवहारको मुद्दा बुझाउन निर्देशन गरेको खुलेको छ ।
सुवेदीलाई आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सुवेदीले पोखरा क्षेत्रमा कास्कीको प्रमुख जिल्ला अधिकारीलाई मैले सरुवा गरेर ल्याएको हुँ भन्दै हिँड्ने र ठुला मान्छे चिनेको धाक लगाएर ठग्ने गरेको समेत खुलेको प्रहरीले जनाएको छ ।
आरोपीविरुद्ध २ वटा ठगी मुद्दाको जाहरी परेको र वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान गरिरहेको एसपी थापाले जानकारी दिए ।