TagaroNews
मनाङमा ४.८ मेगावाटको स्याल्क्यु खोला हाइड्रो बन्दै 

मनाङ – हिमाली जिल्ला मनाङमा ४.८ मेगावाटको स्याल्क्यु खोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । एलाईन्स इनर्जी सोलुसन्स प्रालिले मनाङको चामे र नासों गाउँपालिकामा अवस्थित स्याल्क्यु खोलामा यस आयोजना निर्माण गर्न लागेको हो । 

यो जलविद्युत् आयोजानाको सम्भाव्यता अध्ययन भइसकेको छ । भने, प्रारम्भिक वातावरणीय परीक्षण समेत पूरा भएको छ । कम्पनीले आयोजना निर्माणको अनुमति माग्दै विद्युत् विकास विभागमा आवेदन समेत दिइसकेको छ । 

कम्पनीका अनुसार आयोजना अघि बढाउन आवश्यक प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आइइई) ०७९ जेठ २ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट स्वीकृत गरिसकिएको छ । यस्तै आयोजनाको पछिल्लो सम्भाव्यता अध्ययन प्रतिवेदनसमेतका विवरणहरूबारे जानकारी दिँदै विभागले सार्वजनिक सूचना समेत जारी गरेको छ । 

आयोजनाको विद्युत् गृहबाहेक सम्पूर्ण संरचनाहरू चामे गाउँपालिका– १ मा रहनेछन् । विद्युत् गृह नासों गाउँपालिका– ९ दानाक्यु खोला र मर्स्याङ्दी नदीको किनारमा रहने छ । आयोजनाबाट बार्षिक २९.७८२ गिगावाट घण्टा विद्युत् उत्पादन हुने छ । योजनाबाट उत्पादन हुने विद्युत ५ किलोमिटर लामो प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको थानचोक सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिने कम्पनीले जनाएको छ ।  

आयोजनाको निर्माण ०८५ जेठ ६ गतेसम्म सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update