TagaroNews
लमजुङमा सुरु भयो ‘ट्राफिक सप्ताह’
ट्राफिक सप्ताहको पूर्व सन्ध्यामा बेसीशहरमा निकालिएको प्रभातफेरी ।

बेसीशहर – लमजुङमा मंगलबारदेखी ट्राफिक सप्ताह सुरु भएको छ । सडक सुशासन कायम गर्दै सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । 

वैशाख ३१ गतेसम्म चल्ने सप्ताहको बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले उदघाट्न गरे । सप्ताह उद्घाटन गर्दै मेयर अर्यालले ट्राफिक नियम उल्लंघनले नै धेरै क्षति भइरहेको भन्दै नियम र पद्धतिमा चल्न सके कहिल्यै समस्या नहुने बताए । 

लमजुङमा चालु आर्थिक वर्षमा मात्रै २५ वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । त्यसमा ९ जनाले ज्यान गुमाएका छन् । २१ जना गम्भिर घाईते भएको र १७ जनाको अवस्था सामान्य रहेको ट्राफिक कार्यालयको तथ्याङ्क छ । 

‘दीर्घजीवनका लागि सुरक्षित सवारी यात्रा’ भन्ने नारासहित सुरु भएको ट्राफिक सप्ताहको पूर्व सन्ध्यामा बेसीशहरको मनाङ्गे चौतारादेखी फुलबारी चोकसम्म प्रभातफेरी निकालिएको थियो । 

ट्राफिक सप्ताह अवधिभर जिल्ला भरिका सवारी चालक तथा सह–चालकलाई जनचेतना अभिवृद्धि गराउने उद्देश्यले विभिन्न ट्राफिक सचेतनामूलक पर्चा पम्प्लेट वितरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रमुख बरिष्ठ प्रहरी नायव निरीक्षक प्रदिप अधिकारीले बताए । 

उनका अनुसार चालकको स्वास्थ्य परीक्षण समेत गरिने छ । सप्ताह अन्तर्गत सवारी साधनको मेकानिकल चेकजाँच समेत अनुभवी मेकानिकद्वारा सडकमै गर्ने र सवारी साधनमा आवश्यक पर्ने कागजात सवारीको अवस्था र सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने कुराहरूको विषयमा सडकमै प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिनेछ । 

विद्यालय सम्पर्क कार्यक्रम तथा सार्बजानिक स्थलहरूमा सडक प्रयोगकर्ताहरू भेला गरी ट्राफिक नियम सम्बन्धी प्रशिक्षण कार्यक्रम तथा जिल्ला भरका विभिन्न स्थानीय निकाय, सरोकारवालाहरू सँग समन्वय गरी ट्राफिक व्यवस्थापन कार्य, पार्किङ व्यवस्थापन लगायत दुर्घटना न्यूनीकरण सम्बन्धमा आवश्यक सहकार्य गर्ने जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । 

सडक प्रयोगकर्ताको लागी विभिन्न मिडिया मार्फत सूचना सन्देश प्रवाह गर्नुका साथै माइकिङद्वारा समेत ट्राफिक सचेतना सम्बन्धी सन्देश प्रवाह गरिने छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा मंगलबारदेखी ट्राफिक सप्ताह सुरु भएको हो ।

प्रमुख जिल्ला अधिकारी बुद्ध वहादुर गुरुङ अध्यक्षतामा भएको सप्ताह उदघाट्न कार्यक्रममा लमजुङका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, यातायात सञ्चालक प्रालिका प्रमुख तथा प्रतिनिधि, आमा समूह लगाएतको उपस्थिति थियो । 


प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update