TagaroNews
बेसीशहरका ९ फार्मेसीमा छड्के, ४ कारबाहिमा 

बेसीशहर – जिल्ला प्रशासन कार्यालय लमजुङले सदरमुकाम बेसीशहरमा सञ्चालित ९ वटा फार्मेसी पसलमा छड्के अनुगमन गरेको छ । प्रशासनले अनुगमन गरेका ९ वटा पसल मध्ये ४ वटा पसललाई आवश्यक निर्देशनसहित ५–५ हजारका दरले जरिवाना समेत गरेको छ । 

शुक्रबार गरेको अनुगमनमा अधिकांश मेडिकल तथा फार्मेसीमा म्याद सकिएका औषधि भेटिएको, पर्यटन तथा उधोग कार्यालयमा दर्ता नभएको, बिक्री विल नभएको, साइक्याट्रिक तथा नारकोटिक औषधि बिक्री वितरणको अभिलेख नपाइएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयलले बताए । 

अनुगमनका क्रममा बेसीशहरको शेरा ओरालो स्थित रमेश मेडिकलमा म्याद गुज्रिएका औषधीहरु भेटिएका छन् । यस्तै क्लिनिक दर्ता विना विरामीको चेकजाँच गर्ने गरेको भेटिएपछि आवश्यक निर्देशन सहित जरिवाना गरिएको छ । 

शेरा स्थित सुवास मेडिको फर्मा र सुमन फार्मेसीमा विक्री विल नभएको र म्याद गुज्रिएका औषधीहरु फेला परेपछि जरिवाना सहित निर्देशन गरेको प्रशासनले जनाएको छ । यस्तै प्रयन मेडिकल हलमा लाइसेन्स वाला र दर्ता वाला व्यक्तिले औषधी नबेचेको भेटिएपछि आवश्यक निर्देशन सहित जरिवाना गरिएको छ । 

शेरा स्थित लवकुश फार्मेसीले साइक्याट्रिक औषधी बिक्री वितरणको अभिलेख नराखेको भेटिएको छ । यो सँगै पुरानो बैँक चोक स्थित केयर फार्मेसी र मनाङे चौतारा स्थित रिमाल मेडिकलले समेत घरेलु तथा पर्यटन कार्यालयमा फर्म दर्ता नगरेको भेटिएपछि ७ दिनभित्र दर्ता गर्न निर्देशन गरेको प्रशासनले जनाएको छ । 

धनु मेडिकललाई क्लिनिक व्यवस्थित बनाउन सुझाव दिइएको र जनसेवा मेडिको फर्मा भने ठिकै रहेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी सुयलले जनाकारी दिए । उनका अनुसार बजार अनुगमनलाई तिब्र गतिमा अगाडि बढाइरहेको प्रशासनले अब हप्ताको १ दिन अनिवार्य रुपमा बजार अनुगमन गर्ने समेत बताए । 

बजार अनुगमनमा जिल्ला प्रशासन, पर्यटन तथा उधोग कार्यालय, लमजुङ अस्पताल, स्वास्थ्य कार्यालय, प्रहरी, उधोग वाणिज्य संघ र सञ्चारकर्मीको उपस्थिति थियो । अन्य फार्मेसीहरूको पनि निरन्तर अनुगमन गरिने प्रशासनले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update