TagaroNews
बाबु साइलाले पाएनन् लमजुङ अस्पतालमा कोरेको पेन्टिंगको १० लाख रकम
बाबु साइलाले लमजुङ अस्पताल लमजुङ परिसरमा कोरेको पेन्टिंगहरु ।

लमजुङ – चर्चित चित्रकार बाबु साइला अर्थात भीम सुब्बा तामाङले लमजुङ अस्पताल लमजुङमा कोरेको पेन्टिंगको १० लाख रुपैँया आफुले नपाएको दुखेसो पोखेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा बिहिबार स्टाट्स लेख्दै उनले भनेका छन् ‘अस्पताल परिसरमा डेढ महिना लगाएर १० लाख बराबरको मेरो पेन्टिंग, जसमा मेरो कलर, ब्रशहरु र खाना, बस्न मात्र २ लाख माथि खर्च भयो । बिना सम्झौता मौखिक र विश्वासको भरमा काम गरेँ । बाँकी ८ लाख बराबरको आफनो योगदान दिदा पनि खर्च मात्रको २ लाख पाउन बारम्बार धाईरहनुपर्ने र फेरी धाईरहँदा अर्को २ लाख खर्च गर्नुपर्ने अवस्था देखिएपछि अपमानित गरी पुरै योगदान दिएको घोषणा गरेँ ।’

चित्रकार बाबु साइलाको फेसबुक स्टाट्स ।

चित्रकार बाबु साइलाको स्टाट्स यतिबेला सामाजिक सञ्जाल फेसबुकमा भाइरल जस्तै बनेको छ । उनको यस स्टाट्सप्रति धेरैले चित्रकारको पसिनाको खर्च अस्पतालले उपलब्ध गराउनुपर्ने प्रतिक्रिया जनाएका छन् । 

लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ स्थित घर भएका साइलाले अस्पताल परिसरको भित्ताहरुमा लमजुङका प्रसिद्ध धार्मिक एंव ऐतिहासिक स्थलहरु, जिल्लाका पालिका स्तरका पर्यटकीय गन्तब्य, स्वास्थ्य सम्बन्धी सचेतनामुलक सन्देश सहित सूचनामुलक जानकारी समेतको ३२ भन्दा बढी चित्र कोरेका छन् । 

चित्रकार बाबु साइला  ।

यसबारे लमजुङ अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट बिशाल तिवारीसँग बुझ्दा उनले यो कार्यालयले लगाएको काम नभएको र कुनै सम्झौता समेत नभएको बताए । उनले भने, ‘यो बारे अस्पतालको कुनै योजना नै छैन् । अस्पताल समितिले लगाएको भन्ने सुनेको हो । तर, हामीले पहिले नै काम रोक्न लगाएका थियौँ । केहि महिनापछि फेरी उनले काम थाले ।’

अस्पताल समिति र चित्रकारलाई सँगै राखेर काम अगाडी नबढाउन निर्देशन समेत गरेको उनले सुनाए । उनले भने, “पछि लमजुङका पालिकाहरुले समन्वय गर्ने भनेपछि काम पुनः सुचारु भएको भन्ने सुनेको हो । तर, पालिकासँग पनि हाम्रो कुनै सहमती भएको छैन् ।” 

दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामूहिक कला प्रदर्शनीहरूमा सहभागिता जनाई सकेका बाबु साईलाका चित्रहरु विश्वका थुप्रै ठाउँमा प्रदर्शनी र बिक्री भएका छन् । उनी अन्तर्राष्ट्रिय जलरंग युबा प्रोत्साहन अवार्डलगायत थुप्रै संघसंस्थाबाट सम्मानित भइसकेका छन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update