
लमजुङ – उत्तरी लमजुङको पर्यटकीय स्थल बाहुनडाँडामा प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । मर्स्याङ्दी गाउँपालिका– ६ बाहुनडाँडामा निर्माण भएको प्रहरी चौकी भवनको नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पुर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ई. फडिन्द्र बरालले बिहिबार उद्घाटन गरेका हुन् ।
भवनको उद्घाटन गर्दै बरालले नेपाल प्रहरीलाई पूर्वाधार, सीप, सुविधा र प्रविधिमा अब्बल बनाउँदै लैजानुपर्ने बताए । उनले प्रहरी आफैँलाई पनि काममा उच्च मनोबल प्राप्त हुने र नागरिकमैत्री सेवा प्रवाह गर्न पूर्वाधारको ठूलो भूमिका हुने बताए ।
आफ्नै जग्गामा कृष्चल कन्ट्रक्शनले ३ करोड १० लाख ४९ हजार ६ सय ७८ रूपैया लागतमा चौकीको भवन निर्माण गरेको हो । ०७९ मंसिर २७ मा निर्माण कार्य अघि बढेको चौकीको काम ०८० मंसिर २६ गते सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
५ रोपनी ८ आना २ पैसा १ दाम क्षेत्रफलमा कार्य प्रशासन शाखा, महिला पुरुषको व्यारेक, हिरासत कक्ष, भान्सा तथा चर्पीसहितको २ तले आधुनिक भवन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक थानेश्वर चपाईले जानकारी दिए ।
द्धन्दकालमा बाहुनडाँडा प्रहरी चौकी विस्थापित भएपछि स्थानीयको घर भाडामा लिएर प्रहरी बस्दै आएका थिए । प्रहरी चौकीमा असईको कमाण्डमा हाल ६ जना प्रहरी कार्यरत छन् ।
रिवन काटेर भवनको उदघाट्न गर्दै प्रहरी नायव महानिरीक्षक बराल ।