TagaroNews
महायज्ञमा उठेको रकमले के गरिदैछ त राइनासकोटमा ?
महायज्ञमा दान गर्ने आमा समूहलाई सम्मान गर्दै प्रमुख अतिथि वैद्य ।

राइनास – लमजुङको ऐतिहासिक एवं पर्यटकिय स्थल राइनासकोटमा सञ्चालित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ २०८० शनिबार समापन गरिएको छ । 

१० दिनसम्म सञ्चालित महायज्ञमा विभिन्न क्षेत्रका सामाजसेवी, व्यक्तिहरु, समूहहरुले गरेको सहयोग तथा दानबाट करिव ३० लाख रकम संकलन भएको आयोजकले जनाएको छ । 

पुरोहित ब्राह्मण समाज ओमकार परिवार राइनासको आयोजना र राइनास नगरपालिकाको सहयोगमा चैत २९ गतेबाट महायज्ञ सञ्चालन गरिएको हो । 

वैदिक परम्पराको प्रवर्द्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि, सनातन संस्कृतिको संरक्षणका साथै पुरातात्वीक राइनास दरबारको भग्नावशेस जिर्णोद्धार, राइनासको पहिचान जगेर्ने गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको आयोजकले जनाएको छ ।

महायज्ञबाट संकलन भएको रकमबाट राइनासकोटमा धार्मिक पर्यटनको विकासका निमित्त विभिन्न धार्मिक संरचनाहरु निर्माण गरिने महायज्ञ मूल आयोजक समितिका अध्यक्ष जगतप्रसाद कट्टेलले बताए । उनले भने, ‘धार्मिक संरचना निमार्ण सँगै द्रव्य शाहको शालिक निमार्ण, नेपालको झण्डा, घण्टा स्थापना गरिनेछ । पर्यटक तथा भक्तजनको आवश्यकता अनुसारका संरचनाहरु थप्दै जाने समेत योजना रहेको छ ।’

दस दिनसम्म सञ्चालित महायज्ञमा प्रमुख वाचकको रुपमा युवा पण्डित केशव कोइराला र उपवाचकको रुपमा चेतनाथ न्यौपानेले कथा वाचन गरेका थिए ।  

प्रमुख वाचक युवा पण्डित केशव कोइराला 

नगरपालिकाको मात्र नभई जिल्लाकै पर्यटकिय स्थलको रुपमा परिचित राइनासकोटको विकासका लागि महायज्ञले टेवा पुग्ने विश्वास लिइएको राइनास नगरपालिका प्रमुख खड्गवहादुर गुरुङले बताए । 

समापन समारोहका क्रममा प्रमुख अतिथि जे.भी.फाउन्डेसनका केन्द्रिय अध्यक्ष प्रा.डा. जगदिश वैद्यले सहयोग तथा दान गर्नेलाई सम्मानपत्रले सम्मान गरेका थिए । 

यो पनि...

राइनासकोटमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update