TagaroNews
लमजुङमा युवतीलाई बोक्सी आरोप लगाउने झाक्रीसहित ३ पक्राउ
सांकेतिक तस्बिर ।

लमजुङ – लमजुङमा एक २१ बर्षीय युवतीलाई बोक्सीको आरोप लगाउने झाक्री सहित ३ जनालाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । झाक्रीले बोक्सीको आरोप लगाएपछि अन्य २ महिलाले उनीमाथी दुर्व्यवहार गरेको पिडितको उजुरीपछि प्रहरीले पीडकलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा बेसीशहर नगरपालिका–१० पाङ्ग्रेक्यूका ५२ बर्षीय झाक्री गम बहादुर गुरुङ, सोहि स्थानकी ४८ बर्षीय कासी माया गुरुङ र २४ बर्षकी अनिता गुरुङ रहेका छन् । 

गत चैत्र २९ गते पक्राउ परेकी मध्यकी अनिता गुरुङ बिरामी भएपछि गम बहादुर गुरुङलाई झाक्री बस्न लगाएकी थिइन् । सो क्रममा झाक्री गम बहादुरले अनितालाई बोक्सी लागेको र दुख दिएको बताएको र सो बोक्सी तीनै युवती रहेको भनि आरोप लगाएका थिए । 

जिल्ला प्रहरी प्रबक्ता इन्सपेक्टर थानेश्वर चपाईका अनुसार बोक्सीको आरोप लगाएपछि पीडित युवतीले झाक्री सहित ३ जना विरूद्द प्रहरीमा जाहेरी दिएकी हुन् । 

'२९ गते बिरामी हेर्ने क्रममा झाक्रीले मलाई आरोप लगाएका रहेछन् । भोलीपल्ट नयाँ बर्ष भएकाले अघिल्लो दिन ३० गते म पाङ्ग्रेक्यू आफन्त भेट्न गएको थिएँ । तर, मलाई बोक्सी नै हो भनेर, झाक्री बोलाइ मेरो प्रतिष्ठामा आँच आउने र सामाजिक रूपमै बहिष्कार गराउने खालका क्रियाकलाप गर्न खोजेपछि उनीहरु बिरुद्ध कानुनी कारबाही गरिपाउँ भनि प्रहरीमा जाहेरी दिएको हो ।’ पिडित युवतीले भनिन् । 

सोही जाहेरीका आधारमा झाक्री बस्दा उनीहरुले बोलेका प्रमाणसमेत संकलन भएपछि प्रहरीले झाक्रीसहित ३ जनालाई पक्राउ गरेको इन्सपेक्टर चपाईले जानकारी दिए ।

पक्राउ परेका ३ जना बिरुद्ध प्रहरीले जाहेरी लिइसकेको र आज सार्वजनीक विदा रहेकाले अर्को दिन जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बिरुद्ध बोक्सीको आरोप सजाय ऐन २०७२ को उपदफा ३ को (च) अन्तरगत धामी झाँर्कीको माध्यमबाट बोक्सीको आरोप लगाउन नहुने सम्बन्धी कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।  

बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ अनुसार धामी, झाक्री वा टुनामुना लगाउनेलाई ३ वर्षदेखि ७ वर्षसम्म कैद र ३० हजारदेखि ७५ हजार रूपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको समेत प्रहरीले जनाएको छ ।  
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update