TagaroNews
राइनासकोटमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ

राइनास – लमजुङको ऐतिहासिक तथा धार्मिक पर्यटन स्थल राइनासकोटमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ २०८० सञ्चालन गरिएको छ । 

पुरोहित ब्राह्मण समाज ओमकार परिवार राइनासको आयोजना र राइनास नगरपालिकाको सहयोगमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको हो । 

श्रीमद् भागवत सप्ताह पुराणको पूर्व सन्ध्यामा बिहिबार भव्य शोभा कलश यात्रा निकालिएको थियो । श्रीमद्भागवत ज्ञान सप्ताहको उदघाट्न योगि नरहरि नाथका उत्तराधिकारी मृगस्थलीका प्रमुख श्रीषनाथ योगीले गर्नुभएको थियो ।

उदघाट्न समारोहमा बौद्ध हवाइट गुम्बाका प्रमुख लामा मिङमार ड्रागो रेपा, भागवत गिताका अन्तराष्ट्रिय प्रशिक्षक मेमोरी माष्टर साधक स्वप्नम् बिदुर फुयांल, योग गुरु श्रीराम स्वधर्म, बिदेशी नागरिक रुमानियाकी योगी कृष्ण भक्तिनि मिरुनाको बिशेष उपस्थिति रहेको आयोजकले जनाएको छ । 

महायज्ञ मूल आयोजक समितिका अध्यक्ष जगतप्रसाद कट्टेलको अध्यक्षता भएको उदघाट्न समारोहमा महायज्ञ मूल समारोह समितिका सल्लाहकार एवं राइनास नगरपालिका प्रमुख खड्ग बहादुर गुरुङ, उप प्रमुख पुष्पराज खनाल लगाएत राजनैतिक दलका प्रतिनिधि, वडा अध्यक्षहरु, आमा समूह, यूवा क्लवका पदाधिकारी, प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो । 

चैत २९ गते बिहिबारदेखी सञ्चालित यस महायज्ञ बैशाख ८ गतेसम्म चल्नेछ । महायज्ञमा प्रमुख वाचक पण्डित केशव कोइरालाले कथा वाचन गर्नेछन् । यस्तै उपवाचकको रुपमा गुरु चेतनाथ न्यौपाने रहेका छन् । 

महायज्ञमा बिहान ७ बजेदेखी पूजा–अर्चना र आरती सुरु हुने साथै श्रीमद्भागवत पाठ, प्रमुख वाचकबाट सङ्गीतमय कथा प्रवचन, महात्मन भक्ति सङ्गीत, आरती लगाएतका कार्य हुने आयोजकले जनाएको छ । उदघाट्न समारोहको सञ्चालन सामाजिक अभियन्ता कृष्णराज ओलियाले गरेका थिए । 

राइनासकोट सामुदायिक होमस्टेको व्यवस्थापनमा सञ्चालित यस महायज्ञको तगारो न्युजको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ् । 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update