TagaroNews
लमजुङमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
सांकेतिक तस्बिर ।

लमजुङ - लमजुङ मध्यनेपालमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । मध्यनेपाल नगरपालिका–४ दुईपिप्लेमा श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी ४० वर्षिया उजेली गुरुङको उपचारको क्रममा मृत्यु भएको हो ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ घर भइ हाल दुइपिप्ले बस्दै आएका सितोराम दासले आफ्नै श्रीमती उजेलीलाई बाँसको भाटा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । 

चैत २३ गते शुक्रबार राति १० बजेतिर दासको कुटपिटबाट उजेली गम्भीर घाइते भएपछि उनलाई पोखरास्थित गण्डकी मेडिकल कलेजको आइसीयुमा भर्ना गरेर उपचार भैरहेको थियो । उपचारको क्रममा बिहीबार बिहान १० बजेतिर उजेलीको मृत्यु भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले बताए । 

प्रहरीका अनुसार कामकाजको सिलसिलामा दास करीब २६ वर्ष पहिला लमजुङ दुईपिप्लेमा आएर बसेका थिए । उनले तनहुँको व्यास नगपालिका–८ बर्लाछीकी उजेली गुरुङसँग विवाह गरी संगै बस्दै आएका थिए ।

घरमा नबसी अन्यत्र डुल्ने र बस्ने गरेका दासले उक्त राती घरमा आएर श्रीमतीमाथि अन्दाधुन्दा बाँसको भाटा प्रयोग गरेर कुटपिट गरेका थिए । कुटपिटबाट उजेलीको टाउको, ढाड लगायत विभिन्न भागमा गम्भिर चोट देखिएपछि उपचारको लागि सोहि राती पोखरा लगिएको प्रहरीले जनाएको छ । 

घटनामा संलग्न दासलाई २४ गते नै पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको थियो । सुरुमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी ज्यान मार्ने उद्योग मुद्दामा थप अनुसन्धान कार्य अघि बढाइएकोमा घाइतेको मृत्यु भएपछि दासमाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइने इन्सपेक्टर चपाईले बताए । 
 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update