TagaroNews
सुपर न्यादी हाइड्रोको जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
दुर्घटना पश्चात चालकलाई डोरीको सहायताले सडकमा निकालिदै ।

लमजुङ – उत्तरी लमजुङमा निर्माणाधीन सुपर न्यादी जलविद्युत आयोजनाको बोलेरो जीप दुर्घटना हुँदा चालकको घट्नास्थलमै मृत्यु भएको छ । मृत्यु हुने चालक रोल्पाको त्रिवेणी गाउँपालिका–४ घर भएका ३७ बर्षिय बिर सिंह दमाई रहेको प्रहरीले जनाएको छ ।

मर्स्याङ्दी गाउँपालिका– ६ डहरे स्थित निर्माणाधीन सुपर न्यादी जलविद्युत आयोजनाको बा १७ च १४६५ नम्बरको बोलेरो जीप आयोजनामा कामदार पुर्याएर फर्कने क्रममा शुक्रबार बिहान करिब सवा ९ बजेतिर काफलडाँडा स्थित हाइड्रोको आउटलेट नजिकै घुम्तीमा दुर्घटना भएको हो । 

दुर्घटनाको सूचना लगत्तै प्रहरी चौकी बाहुनडाँडा र जिल्ला प्रहरी कार्यालय लमजुङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । जीप सडकदेखी करिब ४ सय मिटर तल खसेको र चालक दमाई भिरमा अड्किएको अवस्थामा मृत फेला परेका थिए । 

चालकलाई प्रहरीले डोरीको सहायताले सडकमा निकाली प्रारम्भिक अनुसन्धान पश्चात शव परिक्षणको लागि लमजुङ अस्पताल बेसीशहर ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले जानकारी दिए । 

इन्सपेक्टर चपाईका अनुसार जीप घुम्तीमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । यसबारे अनुसन्धान भैरहेको उनले बताए । 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update