TagaroNews
८ औँ लमजुङ महोत्सव शुरु, राष्ट्रपतिद्धारा ‘लमजुङ भ्रमण बर्ष २०८१’ घोषणा 
‘लमजुङ भ्रमण बर्ष २०८१’ घोषणा गर्दै राष्ट्रपति पौडेल ।

लमजुङ – लमजुङमा शुक्रबारबाट शुरु भएको ८ औँ लमजुङ महोत्सवको उदघाट्न गर्न आएका राष्ट्रपति रामचन्द्र पौडेलले ‘लमजुङ भ्रमण बर्ष २०८१’ घोषणा समारोहको सुरुवात गरेका छन् । 

गृहजिल्ला तनहुँ हुँदै सेनाको हेलिकप्टर मार्फत लमजुङ आएका राष्ट्रपति पौडेलले लमजुङ महोत्सवको उद्घाटन सँगै भ्रमण बर्षको पनि सुरुवात गरे । 

राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेकै अर्थतन्त्रलाई चलायमान, गतिशिल र सुदृढ बनाएर तीव्र देश विकासको जनताको चाहनालाई पुरा गर्नु रहेको बताए । उनले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिए । 

उनले भने, ‘श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नुपर्छ, मुलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै औधोगिकरणको मार्ग प्रशस्त गर्न सकिन्छ । जुन ठूलो त्याग, बलिदान र संघर्षबाट प्राप्त हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको पनि लक्ष्य हो ।’ 

राष्ट्रिपति पौडेलले राजनीतिक दल, सरकार र नीति निर्माताहरूले सुदृढ गणतन्त्र, सबल अर्थतन्त्र, समुन्नत र समृद्ध विकसित आधुनिक नेपाल नै नेपालीको चाहना हो भन्ने भुल्नु नहुने बताए ।

उनले निजी क्षेत्रसँगको सहकार्यमा यहाँको पर्यटन क्षेत्रलाई आवश्यक जनशक्ति विकास तथा मौलिक कला, संस्कृति, सम्पदा र रैथाने उत्पादनलाई पर्यटनसँग आवद्ध गराउनुपर्नेमा जोड दिए । जलविद्युतका धेरै आयोजनाहरू यसै क्षेत्रमा निर्माण भइरहेकाले भविष्यमा ऊर्जाको आपूर्ति सहज हुने हुँदा यस क्षेत्रमा उद्योग स्थापना गर्ने वातावरण समयमै सृजना गर्नु उपयुक्त हुने धारणा राखे ।

लमजुङ महोत्सवले यस क्षेत्रका धर्म, कला, सस्ंकृति, परम्परा संरक्षण र संवद्र्धन तथा पर्यटन, व्यवसाय तथा उत्पादनको प्रवद्र्धन, औद्योगि, पूर्वाधार परियोजनाका लागि लगानीमैत्री वातावरणसमेत सृजना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कृषि क्रान्ति, पर्यटनको विस्तार र जलस्रोतको विकास तिनवटै कुराको सशक्त आधार भूमि लमजुङ रहेकाले अन्तरनिहीत संभावनालाई उजागर गर्न सके समृद्धिको स्वर्ग यही नै भेटिने कुरामा जोड दिए । 

‘धार्मिक, ऐतिहाशिक, सांस्कृतिक र प्राकृतिक सम्पदाः दीगो पर्यटन उद्योग–समुन्नत लमजुङको मार्गदिशा’ भन्ने नारा सहित ०८१ बैशाख १ देखी ३१ चैत्र सम्म लमजुङ भ्रमण बर्ष मनाइने लमजुङ उद्योग वाणिज्य संघले जनाएको छ । 

‘स्थानीय उत्पादन, उद्योग, पर्यटन तथा पूर्वाधारः मौलिक कला–संस्कृति समृद्ध लमजुङको आधार’ भन्ने मूल नाराका साथ शुरु भएको महोत्सव ३ वैशाखसम्म चल्नेछ । 

महोत्सवको पूर्व सन्ध्यामा विभिन्न जातजाती, समूहको झाँकी तथा र्याली प्रदर्शन गरिएको थियो । महोत्सवमा औद्योगिक तथा व्यापारीक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला, गण्डकी प्रदेशभित्रका उद्योग तथा व्यवसायीक प्रतिष्ठानहरुको बिशेष प्रदर्शनी, कृषि, जडिबुटि, बृत्तचित्र प्रदर्शनीमा राखिएको छ । 

यस्तै जातीय संग्रालय, बाल उद्यान, आन्तरिक पर्यटन प्याकेज टुर, सरकारी तथा गैह्रसरकारी निकायको गतिविधि प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति सँगै गृहिणी नृत्य लगाएतका प्रतियोगीता चल्नेछ । २ सय १ वटा स्टल रहने महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।


 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update