TagaroNews
हत्या आरोपमा समातिएका खाम मनाङ घटनाका फरार अभियुक्त

काठमाडौं – कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या आरोपमा पक्राउ परेका माओवादी केन्द्रका केन्द्रीय सदस्य कालिबहादुर खाम मनाङ घट्नाको पनि फरार अभियुक्त रहेको खुलेको छ ।

खामलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार ठमेलबाट पक्राउ गरेको हो । खामको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) हेर्दा मनाङ प्रहरीको समेत खोजी सूचीमा रहेको खुलेको हो । 

२०७१ साउन १ गते मनाङको साविक धारापानी गाविस–५ स्थित सडकमा ग२च ३०१ नम्बरको बोलेरो जिपलाई मनाङ प्रहरीले जाँच गरेको थियो । जाँचको क्रममा उक्त गाडीमा एके४७ सेभेन राइफल १ थान, त्यसमा लाग्ने ७ राउण्ड गोली, १ थान कटुवा पेस्तोल, त्यसमा लाग्ने ७ राउण्ड गोली र १ थान खोका बरामद भएको थियो ।

त्यतिबेला मनाङ प्रहरीले विकल्प भनिने संगम रोकालाई पक्राउ गरेको थियो । तर, उक्त मुद्दामा कालिबहादुर खामसहित ८ जना भने फरार रहेका थिए ।

खाम कोटेश्वरबाट व्यापारी रामहरिलाई अपहरण गरेर चितवनको तत्कालीन माओवादी लडाकुको शक्तिखोरस्थित डिभिजन लगेर कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।

खामलाई काठमाडौंबाट चितवन पठाइसकिएको काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । मनाङ प्रहरीको रेकर्डमा खाम फरार देखिएकाले उनलाई चितवनपछि मनाङ पठाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update