TagaroNews
गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । उनले आज प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका हुन् । 

गत फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले यही २२ गतेभित्र संसद्मा विश्वासको मत लिनुपर्ने थियो । तर पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामाको विकल्प रोजेका हुन् ।

गण्डकीमा एमालेका २२, माओवादीका सभामुखसहित ८ जना सांसद् छन् । जुन संख्या सरकार बनाउन पर्याप्त छैन । २ सदस्य रहेको राप्रपाले गठबन्धनलाई साथ नदिंदा बहुमत नपुग्ने र ठूलो दलको हैसियतमा फेरि आफैं मुख्यमन्त्री हुने रणनीति पाण्डेको छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् । एकीकृत समाजवादी प्रवेश गरेर अहिले फेरि स्वतन्त्र हैसियत मागेका दीपक मनाङेलाई पाण्डेले भौतिक मन्त्री बनाएका थिए ।
 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update