TagaroNews
फलोअप : क्याम्पस प्रमुखको धन्दा, प्रहरीको किर्ते हस्ताक्षर देखि फर्जी बिलसम्म

लमजुङ – लमजुङ बेसीशहरको मर्स्याङ्दी बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको परीक्षा सञ्चालनमा प्रहरीको किर्ते हस्ताक्षर र फर्जी बिल भरपाई बनाई क्याम्पस प्रमुख एवं केन्द्राध्यक्ष हरिबाबु थापाले त्रिवि व्यवस्थापन संकाय डीनको कार्यालय किर्तिपुरबाट रकम बुझिलिएको प्रमाण तगारो न्युजले फेला पारेको छ । 

क्याम्पस प्रमुख एवं केन्द्राध्यक्ष थापाले क्याम्पसमा गत माघ २८ देखी फागुन ६ गतेसम्म सञ्चालित स्नातकोत्तर तह प्रथम सेमेष्टरको परीक्षा सञ्चालनमा खबर नै नपाएका प्रहरी कर्मचारीको नाम र हस्ताक्षर किर्ते गरी फर्जी बिल भरपाई बनाइएको विवरण फेला पारेपछि क्याम्पस प्रमुखको कर्तुत बाहिर आएको हो । 

प्रहरीको किर्ते हस्ताक्षर र फर्जी बिल भरपाईको विवरणमा राखिएका प्रहरी हवलदार क्रमशः विकास गोले, श्याम प्रजा र प्रेम बहादुर घिमिरे, प्रहरी जवान क्रमशः रिता खनाल, भुपेन्द्र यादव, विकास आले, राजन विक, कुमार सिंह, हेमा कुमाल, रिता खनाल र किसान नेपाली नै नक्कली नाम र पद हो । यी नाम र पद गरेका प्रहरी जिल्ला प्रहरी कार्यालय लमजुङमा नै कार्यरत छैनन् । 

क्याम्पसको यो प्रवृत्तिबारे जिल्ला प्रहरी कार्यालय नै अनविज्ञ रहेको कार्यालयका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले बताए । उनले भने, ‘यो प्रश्न हामीलाई भन्दा क्याम्पसलाई नै सोध्नु, हाम्रो जवाफ नै यही होकी हामीलाई कुनै आधिकारीक जानकारी छैन् ।’

क्याम्पस प्रमुख थापाको यो किसिमको हर्कत बाहिरिदै गर्दा २०६८ सालदेखी लिइदै आएको स्नातकोत्तर तह परीक्षामा प्रहरीलाई खबर नै नगरी प्रहरी कर्मचारीको सुरक्षा भत्ता किर्ते हस्ताक्षर र फर्जी बिल भरपाई बनाएर त्रिविबाट बुझ्दै आएको स्पष्ट बुझ्न सकिन्छ ।

यसबारे त्रिवि व्यवस्थापन संकायका सहायक डीन कृष्ण खरेलले परीक्षा केन्द्र सञ्चालनका लागी प्रहरीको समेत आवश्यक रकम त्रिवि व्यवस्थापन संकाय डीन कार्यालयले दिदै आएको बताए । उनले भने, ‘क्याम्पसले जे विवरण पठाएको हुन्छ, त्यहि अनुसार पैसा पठाउने हो ।’ 

क्याम्पसमा सञ्चालन हुने कक्षा ११ र १२, स्नातक तहमा समेत प्रहरी कर्मचारीले पाउनुपर्ने सुरक्षाभत्ताको बास्तविक रकम पाए नपाएको बारे पनि आशंका बढ्दै गएको छ । यसबारे हामी थप फलोअप गर्नेछौँ ।

प्रहरीको किर्ते हस्ताक्षर र फर्जी बिल हेर्नुहोस् :


यो पनि...

मर्स्याङ्दी क्याम्पसमा प्रहरीको रोहवर विना खोलिएको प्रश्नपत्र किनबेचको आशंका

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update