TagaroNews
लमजुङको उच्च क्षेत्रमा निर्माण हुँदै २१.४ मेगावाटको न्यादी–फिदी 
आयोजनाको इन्जिनियरिङ परामर्श सेवा सम्बन्धमा सम्झौता गरिदै ।

लमजुङ – लमजुङको उच्च क्षेत्रमा निर्माण हुने २१.४ मेगावाटको न्यादी–फिदी जलविद्युत् आयोजनाको ‘डिटेल इन्जिनियरिङ डिजाइन (डिपिआर)’ तयारी शुरु गरिएको छ । डिपिआर तयार गर्ने जिम्मेवारी हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेड र इन्नोभेटिभ इन्जिनियरिङ सर्भिस प्रालिले पाएका छन् ।

नर्थ समिट हाइड्रो लिमिटेडले निर्माण गर्ने उक्त आयोजनाको इन्जिनियरिङ परामर्श सेवा सम्बन्धमा गत शुक्रबार सम्झौता भएको छ । सम्झौता भएको करिब ९ महिनामा लक्षित काम पूरा गर्ने समयावधि तोकिएको हाइड्रो कन्सल्टका प्रमुख कार्यकारी अधिकृत मनोहर श्रेष्ठले बताए ।

नदीको प्रवाहमा आधारित (आरओआर) प्रकृतिको यो आयोजनाबाट लक्षित विद्युत् उत्पादन गर्न न्यादी र फिदी दुवै खोलाको पानी उपयोग हुने गरी प्रारम्भिक अध्ययन गरिएको छ । दुवै खोलाको पानी उपयोग गर्न दुवैतर्फ नै हेडवर्क्स निर्माण गरिने छ । 

कम्पनीका अनुसार न्यादी खोलाको हेडवर्क्स मर्स्याङ्दी गाउँपालिकाको २९४८.९० मिटर उचाइको जलुचे र बाहुँनडाँडामा र फिदी खोलाको हेडवर्क्स सोही गाउँपालिकाको ३०१४ मिटर उचाइको चेपेबगरमा निर्माण हुनेछ ।

यसैगरी, आयोजनाको विद्युत्गृह न्यादी र फिदी खोलाको संगमको माथिल्लो क्षेत्रमा निर्माण हुनेछ । आयोजनाबाट वार्षिक १२७.९५ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । सुख्खायाममा ४०.०२ गिगावाट घन्टा र बर्खायामको  ८७.९२ गिगावाट घन्टा विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ । 

यो आयोजना बुटवल पावर कम्पनीले निर्माण गरेको ३० मेगावाटको न्यादी तथा सिउरी न्यादी पावर लिमिटेडले निर्माण गरिरहेको ४०.२७ मेगावाटको सुपर न्यादी भन्दा अझ माथिल्लो क्षेत्रमा अवस्थित छ ।
 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update