TagaroNews
नयाँ वर्षमा राष्ट्रिय एकता कायम रहोस् : पूर्व राष्ट्रपति यादव
फाइल फोटो

काठमाडौं- पूर्वराष्ट्रपति डा. रामवरण यादवले नयाँ वर्ष २०८० मा सम्पूर्ण देशवासीमा राष्ट्रिय एकता कायम रहने प्रेरणा मिलोस् भनी कामना गरेका छन् । नयाँ वर्ष २०८० का अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले सम्पूर्ण नेपालीको सुख समृद्धिको कामनासमेत गरेका छन् ।

पूर्वराष्ट्रपति डा. यादवले दशकौँको नेपाली नागरिकको ठूलो त्याग, तपस्या र बलिदानीबाट गणतान्त्रिक लोकतन्त्र स्थापना भएकाले यसको स्थायित्व नै सबैको आजको आवश्यकता भएको बताए । सन्देशमा उनले भनेका छन्, ‘लोकतन्त्र सबैभन्दा उत्तम व्यवस्था हो, यसको उपभोग सबै नेपालीले समान रुपमा गर्न पाऊन्, नयाँ वर्षमा परिवार, समाज र राष्ट्रको प्रगति हुन सकोस् ।’ 

लोकतन्त्र नै सभ्य समाज निर्माणका लागि सबैभन्दा समुन्नत व्यवस्था भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति डा. यादवले सबै नागरिकले आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक, सांस्कृतिकलगायतका अधिकार समानरूपमा उपभोग गर्न पाउनुपर्नेमा सो सन्देशमा जोड दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update