TagaroNews
मर्स्याङ्दी क्याम्पसमा प्रहरीको रोहवर विना खोलिएको प्रश्नपत्र किनबेचको आशंका 

लमजुङ – लमजुङ बेसीशहरको मर्स्याङ्दी बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको परीक्षामा प्रहरीको रोहवर विना नै प्रश्नपत्र राख्ने, मुचुल्का उठाउने लगाएत सबै काम आफू खुसी गरेको भेटिएको छ । आजबाट सञ्चालनमा आएको स्नातकोत्तर तहको परिक्षामा प्रहरीको रोहवर र सुरक्षा विना नै परीक्षा सञ्चालन गरिएको तथ्य बाहिरिएको हो । 

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको नियम अनुसार परीक्षा सञ्चालन गर्दा प्रश्नपत्र प्रहरीको सुरक्षामा रहन्छ । परीक्षाको समयमा प्रहरीकै रोहवरमा परीक्षा केन्द्रमा प्रश्नपत्र खोली मुचुल्का गरी सनाखत गरेपछि परीक्षा सञ्चालन गर्नुपर्छ । यतिमात्र होइन् परीक्षा सम्पन्न भएपछि उत्तरपुस्तिका मुचुल्कापत्र प्रहरीको रोहवरमा गराई प्रहरी सुरक्षाकर्मीको जिम्मा लगाउनु पर्छ ।

तर, मर्स्याङ्दी क्याम्पसमा आजबाट सञ्चालित स्नातकोत्तर तह परीक्षामा केन्द्राध्यक्ष हरिबाबु थापा र परीक्षा शाखा प्रमुख टिका कुमारी भण्डारीले त्रिविका प्रतिनिधिसँग प्रश्नपत्र बुझि आफै राखेको र परीक्षाको समयमा प्रहरीको रोहवर विना नै प्रश्नपत्र खोली परीक्षा सञ्चालन गराएको भेटिएको हो ।

यता परीक्षा सञ्चालनको पर्यवेक्षक रहेका हिक्मत बहादुर केसीलाई यसबारे प्रश्न गर्दा उनले भने ‘प्रश्नपत्र राख्ने, खोल्ने र परीक्षा सकिएपछि मुचुल्का उठाउँदा प्रहरीको रोहवरमा गर्नुपर्छ तर, अहिले परीक्षाको प्रश्नपत्र खोल्दा मैले हस्तक्षर गरे, प्रहरीको रोहवरमा गरे कि गरेन् त्यो थाहा भएन, त्यो जिम्मा केन्द्राध्यक्षको हो, उसैलाई नै सोध्नु ।’

मर्स्याङ्दी क्याम्पसको परीक्षाबारे आफु अनविज्ञ रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मिनबहादुर घलेले बताए । डिएसपी घलेले भने, ‘हामीलाई कुनै आधिकारिक पत्र, जानकारी अहिले सम्म आएको छैन् ।’

यसबारे केन्द्राअध्यक्ष हरिबाबु थापासँग बुझ्दा उनले प्रहरीको रोहवर विना नै परिक्षा सञ्चालन गरेको कुरा स्विकार गरे । उनले भने, ‘हामीले समयमै प्रहरीलाई खबर गर्नुपर्ने हो । तर, गरिएन । कमजोरी भएकै हो ।’ 

यस क्याम्पसमा विगत २०६८ सालदेखी नै स्नातकोत्तर तह परीक्षा सञ्चालन गर्दा प्रहरीको रोहवर र सुरक्षा विना नै आफुखुसी परीक्षा सञ्चालन गर्ने गरेको, प्रश्नपत्र र उत्तरपुस्तिका समेत प्रहरीको सुरक्षा जिम्मामा नदिएको क्याम्पसका एक कर्मचारीले जानकारी दिए । 

यसरी प्रश्नपत्र र उत्तरपुस्तिका आफुखुसी केन्द्राध्यक्षले राख्दा कतै प्रश्नपत्र नै किनवेच भएको त होइन भन्ने आशंका उब्जाएको छ । विगतमा स्नातकोत्तर तह परिक्षा सञ्चालनमा प्रहरी सुरक्षाकर्मीको उपस्थिति भए नभएकोबारे हामी तथ्य प्रमाण सहित थप फलोअप गर्नेछौँ । 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update