TagaroNews
लमजुङमा अवैध लागूऔषध ‘अफिम खेती’ गर्ने युवक पक्राउ 
पत्रकार सम्मेलनमा पक्राउ परेका लामा सहित बरामद अफिम सार्वजनीक गर्दै प्रहरी ।

लमजुङ – पहाडी जिल्ला लमजुङमा अवैध लागूऔषध ‘अफिम खेती’ गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–८ घर भएका २६ बर्षिय हिमाल लामा थिङ रहेका छन् ।

उनले लमजुङको मध्यनेपाल नगरपालिका–३ सुर्यपालमा अवैध लागूऔषध अफिम खेती गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले लामालाई आइतबार पक्राउ गरेको हो । 

मंगलबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले पक्राउ परेका लामा सहित उनले ३ रोपनी जग्गामा लगाएको १४ हजार ५ सय ६६ अफिमका बोट, अफिमबाट संकलन गरिएको १०७.४ ग्राम चोप, चोप निकाल्ने कार्यमा संलग्न बरामद गरिएका सामाग्री सार्वजनीक गरेको छ । 

जिल्ला प्रहरी प्रमुख डिएसपी मिनबहादुर घलेका अनुसार पक्राउ परेका लामा विगत १ बर्षदेखी उक्त स्थानमा विष्णु सुवेदीको खेतबारी रेखदेख गरी बस्दै आएका थिए । डिएसपी घलेले भने, ‘सुवेदी पनि पोखरातिरका रहेछन् । ३, ४ बर्ष अघि मात्र यहाँ आएर जग्गा किनेको भन्ने सुनियो । सो जग्गा रेखदेख गर्ने जिम्मा लामालाई दिएर उनी युरोप तिर लागेछन् । यता लामाले अफिम खेती सुरु गरेछन् । प्रारम्भिक अनुसन्धानलाई आधार मान्दै उनले भने । 

पक्राउ परेका लामालाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अफिम खेती अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले जानकारी दिए । 

यसको खेती २५ बोटसम्म गरिए १ देखि ३ वर्षसम्म कैद र पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । २५ बोट भन्दामाथि जतिसुकै भए पनि ३ देखि १० वर्षसम्म कैद र २५ हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवानाको सजाय हुने कानुनी व्यवस्था छ । 

अफिमको दाना (पप्पी) बाट निस्किने चोपलाई लागूऔषधका रुपमा प्रयोग गर्ने गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update