TagaroNews
सुन्दरबजारको बालज्योती अंग्रेजी स्कूलकी छात्रामाथि निर्घात कुटपिट

सुन्दरबजार – लमजुङको सुन्दरबजार स्थित एक निजि विद्यालयमा अध्ययनरत छात्रामाथि प्रश्नको उत्तर नजानेको भन्दै शिक्षिकाद्धारा निर्घात कुटपिट गरिएको छ । 

सुन्दरबजार नगरपालिका–७ मा रहेको बालज्योती अंग्रेजी माध्यमिक बोर्डिङ स्कूलमा कक्षा ५ मा अध्ययनरत ११ बर्षीया छात्रामाथि सोधेको प्रश्नको उत्तर नदिएको भन्दै हेल्थ शिक्षिका फराना मियाँले निर्घात कुटपिट गरेकी हुन् । 

घाइते बालिकाका अनुसार नियमित दोस्रो क्लासकी शिक्षिका मियाँले २ दिन अघि नै प्रश्नको उत्तर नजानेको भन्दै हातमा पिटेकी थिइन् । सो क्रममा नै सो बालिकाको औलामा रगत जमेको थियो । ‘आइतबार १२ बजेतिर क्लासमा शिक्षिकाले मलाई ५ वटा प्रश्न सोध्नुभयो, पहिलो प्रश्न मिलाएपनि दोस्रो प्रश्नको उत्तर नजानेपछि उहाँले बाँसको लौरीले बेस्सरी पिट्नभयो,’ पीडित बालिकाले तगारोन्युजसँग भनिन्, हात दुखेको भनेपछि खुट्टामा पिट्न थाल्नुभो । ‘दुख्यो भन्दा पनि पिट्न छाड्नुभएन ।’

कुटाइका कारण पीडित बालिकाको दुबै खुट्टाका पिँडौला सुन्निएको छ भने, निलडाम स्पष्ट देखिन्छ । पिडित बालिकालाई सुन्दरबजार अस्पतालमा जाँचका क्रममा पिँडौलामा रगत जमेको पाइएको छ । चिकित्सकले घाउमा ड्रेसिङ गर्दै केहि साताका लागि औषधि दिएको घाइते बालिकाकी आमा देउमाया गुरुङले बताइन् । 

‘हामीले विद्यालयमा राम्रा कुरा सिक्न पठाएका हौं, यसरी कुट्न पाइन्छ ? कुटपिट गर्ने शिक्षकमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ,’ देउमायाले भनिन् । 

कुटाइका कारण पीडित बालिकाको दुबै खुट्टामा देखिएको चोट ।

सुन्दरबजार अस्पतालमा एक्सरे सुविधा नहुँदा आज अन्य अस्पतालमा उपचार गराउने तयारी रहेको समेत उनले बताइन् । वालिकामाथि १२ बजे कुटपिट भएपनि उनलाई स्कुल बन्द हुने समय ४ बजेपछि मात्र स्कुलबाट निस्कन दिएको समेत पाइएको छ । 

यो घटना भएपछि कुटपिट गर्ने शिक्षिका माथि कारबाही हुनुपर्ने आवाज उठ्न थालेको छ । घाइते बालिकाकी परिवार लगाएत स्थानीयले कुट्ने शिक्षिकामाथि कारबाही हुनुपर्ने माग राखेका छन् । 

विद्यालयका अध्यक्ष बद्रीमान श्रेष्ठले शिक्षिकाबाट कुटपिट भएको कुरा जानकारी प्राप्त भएको बताए । उनले भने, ‘म काम बिशेषले बाहिर थिए, घट्नाबारे जानकारी पाएको छु । आज विद्यालय समयमै छलफलमा बोलाएको छु । घट्नाबारे म विस्तृत बुझ्छु । 

यस घट्नाबारे इलाका प्रहरी कार्यालय सुन्दरबजारमा मौखिक जानकारी समेत गराइएको छ । प्रहरीले विद्यालयको छलफलको निश्कर्ष आएपछि थप अनुसन्धान गर्ने जनाएको छ । 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update