TagaroNews
रेडक्रसद्धारा उत्कृष्ट उपशाखा, जुरेस र रक्तदातालाई सम्मान 

बेसीशहर – नेपाल रेडक्रस सोसाईटी लमजुङ शाखाले जिल्लाको उत्कृष्ट उपशाखा, उत्कृष्ट जुनियर रेडक्रस सर्कल र रक्तदाता सम्मान गरेको छ । शाखाले आफ्नो ३५ औँ साधरण सभाको अवसरमा सो सम्मान गरेको हो । 

सम्मानित हुने नेपाल रेडक्रस सोसाईटी जिता उपशाखा रहेको छ । जिता उपशाखाले यसवर्ष उत्कृष्ट कार्यसम्पादन गरी संस्थागत क्षमता अभिबृद्धि गर्न सफल भएको भन्दै नगद पाँच हजार रुपैया र कदरपत्र सहित सम्मान गरेको हो । कार्यक्रममा जिता उपशाखा कोषाध्यक्ष बलराम घिमीरेले नगद सहित सम्मान पत्र ग्रहण गरे । 

यस्तै उत्कृष्ट जुनियर रेडक्रस सर्कलको रुपमा इशानेश्वर मावि भोर्लेटार पुरस्कृत भएको छ । यसवर्ष जुरेसले विभिन्न गतिविधी सञ्चालन गरी जिल्ला भरीमै उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै जुरेश इशानेश्वरलाई सम्मान गरीएको शाखाले जनाएको छ । 

रेडक्रस लमजुङ शाखाले उत्कृष्ट रक्तदाताको रुपमा बेसीशहरका शुरेश प्रदानलाई पनि सम्मान गरेको छ । जिल्लामा जुनसुकै समयमा पनि रगतको अभाव हुँदा स्वयंसेवी रुपमा रक्तदान गर्दै आउनुभएका प्रधानलाई प्रोत्साहन स्वरुप सम्मान गरीएको शाखाले जनाएको छ । शाखाले प्रत्येक वर्ष उत्कृष्ट रक्तदाताको रुपमा एक/एकजनालाई सम्मान गर्दै आएको छ ।

सभाको कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य डा. टकराज गुरुङले रेडक्रस मानविय सेवाका लागि पवित्र उद्देश्य राखेको सँस्था भएकोले रेडक्रसमा आवद्ध व्यक्तीहरुमा पनि मानविय सेवा प्रतिको सकरात्मक भावना हुनुपर्नेमा जोड दिए । समुदायमा आपत विपत पर्दा आम सर्वसाधरणले पनि रेडक्रसलाई सम्झने भन्दै सेवा दायरालाई अझै विस्तार र प्रभावकारी बनाउन जिल्ला शाखालाई आग्रह गरे ।

सभापती ऋषिराम घिमीरेले ५४ औँ बसन्त पार गरेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले श्रोत र साधनले भ्याएसम्म सरोकारवाला निकायसँग समन्वय गरी मानविय सेवामा निरन्तर लाग्दै आएको बताए । रेडक्रसले विपद व्यवस्थापन लगायत मानविय सेवामा सदैव राज्यको सहयोगी भुमिका निर्वाह गर्दै आएको भन्दै जिल्ला शाखाले पनि आगामी तीन वर्षको लागि राणनितिक योजना निर्माण गरी काम गर्दै आएको उल्लेख गरे ।

कार्यक्रममा नेपाली काँग्रेस लमजुङका सचिव कृष्ण बहादुर अधिकारी, नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेश कोषाध्यक्ष नारायण घिमीरे, जिल्ला पुर्व अध्यक्ष गणेश प्रसाद न्यौपाने, निवर्तमान अध्यक्ष दिपक बराल, लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ लगायतले शुभकामना दिए ।

२०२६ सालमा तदर्थ समिति गठन गरी जिल्लामा शुरु भएको रेडक्रस अभियानले ५४ बसन्त पार गर्दा जिल्लामा विपद व्यवस्थापन, प्राथमिक उपचार, रक्तदान सेवा, एम्वुलेन्स सेवा सहित विपन्न नागरिकहरुको विचमा समावेशी उत्थानशिल एवं शसक्तीकरण सम्वन्धी विभिन्न गतिविधी सञ्चालन गर्दै आएको छ । 

रेडक्रस जिल्ला शाखा लमजुङले चालु आर्थिक वर्षमा मात्रै पनि समावेसी उत्थानशिल समाजका लागि शसक्तीकरण कार्यक्रम र नेपाल रेडक्रस सोसाईटी तथा डेनिस युवा नेतृत्व आदान प्रदान कार्यक्रम अन्तर्गत गतिविधी सञ्चालन गरीरहेको छ । 

संस्थाले समावेशी उत्थानशील समाजका लागि शसक्तीकरण कार्यक्रम अन्तर्गत दुधपोखरी गाउँपालिका अन्तर्गत स्थानिय लक्षित समुदायलाई नेतृत्व विकास तालिम एवं व्यवसायिक उद्यमशिलताका लागि सहयोग कार्यक्रम सञ्चालन गरेको छ । शुवा नेतृत्व आदान प्रदान कार्यक्रम अन्तर्गत सामाजिक आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यसहित जिल्लाका ९ वटा विद्यालय र समुदायमा विभिन्न गतिविधी सञ्चालन गरेको छ । 

जिल्लामा नेपाल रेडक्रस सोसाईटी शाखा अन्तर्गत २३ वटा उपशाखा रहेका छन् । सो बाहेक जिल्लामा नविकरण भएका ५६ वटा जुनियर रेडक्रस सर्कल रहेका छन् भने नविकरण भएका दुईवटा युवा रेडक्रस सर्कल रहेका छन । शाखाका अनुसार जिल्लामा १५ वटा जुरेस र तीनवटा युवा रेडक्रस सर्कल नविकरण हुन बाँकी रहेका छन् । 

विपदसम्वन्धी मुख्य कार्य क्षेत्र रहेको रेडक्रस लमजुङमा १३ लाख ५० हजार रुपैया विपद प्रतिकार्यका लागि आपतकालिन कोष रहेको छ भने अर्जुन स्मृति अक्षयकोषमा एकलाख ३५ हजार रुपैया रहेको शाखाले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update