
दुधपोखरी- यूवाहरुलाई व्यवसायीक पेशामा अग्रसर गराउन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा लमजुङले दुधपोखरी गाउँपालिकाका ६० जना यूवालाई नगद रकम सहयोग गरेको छ ।
रेडक्रस लमजुङले गत भदौदेखी दुधपोखरी गाउँपालिकामा DUF परियोजना सञ्चालन गरेको छ । सो परियोजना अन्तर्गत पहिलो चरणमा वडा नं. ४ र ६ बाट छनोट भएका ६० जना यूवाहरुलाई जीविकोपार्जनमा सहज होस भन्ने हेतुले १८ लाख रुपैँया सहयोग गरिएको रेडक्रस लमजुङले जनाएको छ ।
यूवाहरुलाई स्थानीय स्तरमा व्यवसाय मार्फत स्वरोजगार बनाउने मुख्य उद्धेश्यले यूवाहरुको मागका आधारमा सो रकम उपलब्ध गराइएको रेडक्रस लमजुङका सभापति ऋषिराम घिमिरेले बताए ।
उनका अनुसार दुधपोखरी गाउँपालिका- ६ का ४० जना र वडा नं. ४ का २० जना गरी ६० जनालाई प्रतिव्यक्ति ३० हजारका दरले हुन आउने एकमुष्ट १८ लाख रकमको चेक गाउँपालिकालाई हस्तान्तरण गरीएको छ ।
मंगलबार पालिकामै पुगेको रेडक्रसको समूहले गाउँपालिका अध्यक्ष धन प्रसाद गुरुङ र उपाध्यक्ष क्षत्रबहादुर गुरुङलाई एकमुष्ट रुपमा सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
सो सहयोग रकमबाट यूवाहरुको इच्छा अनुसार पशुपालन, मौरी पालन र अन्य कृषि व्यवसाय सन्चालनमा अग्रसर गराएर स्थानीय स्तरमै आयआर्जनको बृद्धि गराउने तयारी रहेको रेडक्रसका कार्यक्रम अधिकृत गणेश गौलीले बताए । उनका अनुसार अहिले २ वटा वडाका यूवाहरुलाई समेटिएको भएपनि यस कार्यक्रम अन्य वडामा पनि निरन्तर लागु हुनेछ ।
यस्तै छनोट भएका यूवाहरुलाई मंगलबारदेखि प्रशिक्षक अंगराज घिमिरेद्धारा २ दिने मौरीपालन तालिम सञ्चालन गरिएको छ । यसअघि दुधपोखरी गाउँपालिका पशुशाखा प्रमुख दिनेश गुरुङद्धारा २ दिने पशुपालन तालिम समेत उपलब्ध गराइसकिएको रेडक्रसले जनाएको छ ।
यो सँगै दुधपोखरी गाउँपालिका- २ स्थित बागेश्वरी माविका १२ जना विद्यार्थीहरुलाई मौरीपालन र च्याउ खेतीका लागी नगद रकम समेत सहयोग गरिएको छ ।
चेक हस्तान्तरको अवसरमा रेडक्रस सभापति घिमिरे सहित रेडक्रसका प्रदेश कोषाध्यक्ष नारायण प्रसाद घिमिरे, जिल्ला सदस्य सुशिलचन्द्र अधिकारी र कार्यक्रम अधिकृत गणेश गौलीको उपस्थिति थियो ।