
लमजुङ – उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका–५ तल्लो चिप्लामा गएराती आगोलागी हुँदा एक घर जलेर नष्ट भएको छ । तल्लो चिप्लाको गौरीटोल स्थित लप्टी घलेको ढुङ्गा माटोले बनाएर टिन छाएको २ तले घरमा बुधबार राती करिब १० बजेतिर आगोलागी हुँदा जलेर पूर्णरुपमा क्षति भएको वडा अध्यक्ष घनश्याम घलेले बताए ।
आगोलागीबाट मानविय र पशुचौपायामा क्षति नभएपनि घरभित्र रहेका फर्निचर, लत्ताकपडा, अन्नपात लगायत सबै सामग्री जलेर नष्ट भएको अध्यक्ष घलेले जानकारी दिए । अध्यक्ष घलेका अनुसार आगोलागीबाट करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
११ बजेतिर घट्नास्थल पुगेको बाहुनडाँडा र जगतको प्रहरी टोली र स्थानीयबासीले आगोलागी नियन्त्रणमा लिने प्रयास गरेपनि सफल हुन नसक्दा घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागीको कारण भने, अझै नखुलेको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
लप्टी घलेको परिवारलाई खाली घर खोजेर बस्ने व्यवस्था र खाद्यन्नको तयारी भैरहेको वडा अध्यक्ष घलेले जानकारी दिए । सो घरमा लप्टी घले सँगै उनका २ छोरा, एक बुहारी र नाती बस्दै आएका थिए । लप्टीको श्रीमानको भने, यसअघि नै निधन भैसकेको छ ।