
पोखरा – नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बिहान बसेको माओवादी संसदीय दल गण्डकीको बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
माओवादी केन्द्र गण्डकी प्रदेशकी प्रमुख सचेतक कुसुम बुढाले समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाइसकेको जानकारी दिइन् ।
केन्द्रमा सत्ता समीकरण फेरिएलगत्तै गण्डकीका मुख्यमन्त्री पाण्डेले मंगलबारमात्र माओवादीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका थिए ।
माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् ।
नेकपा एमालेका २२ र माओवादी केन्द्रका सभामुखसहित ८ सांसद छन् । राप्रपाका २ र एकीकृत समाजवादीका १ सांसद छन् ।
गण्डकीमा सरकार बनाउन सांसद संख्या ३१ चाहिने भएपनि एमाले र माओवादीका २९ सांसद छन् । सभामुखले राजीनामा दिए पनि ३० मात्र हुन्छ । त्यसैले गण्डकीमा एमाले–माओवादीको सरकार बन्न राप्रपा र समाजवादी निर्णायक देखिन्छ ।