
लमजुङ - भिजिट भिसामा रुस पाठइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले लमजुङकी एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ दुधपोखरी गाउँपालिका–१ घर भई हाल काठमाडौँको टोखा नगरपालिका–११ बानियाँटार बस्ने ३० बर्षिय बिनिता गुरुङ रहेकी छन् ।
गुरुङले एसएलसी फेल भएका भीमबहादुर बुढालाई वैदेशिक रोजगारीको लागि रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोप छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार गुरुङले बुढालाई प्रलोभनमा पारी पटक–पटक गरी ३ लाख ४६ हजार रुपैयाँ र १ हजार अमेरिकी रकम लिई सम्पूर्ण भिजिट भिसामा चाहिने सर्टिफिकेट लगायतका कागजातहरू बनाई दिएकी थिइन् ।
गुरुङले एक हजार डलर साटेको देखाई उक्त डलर बसपार्कबाट आफै लिई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर बुढालाई रसिया पठाएकी थिइन् । तर रसिया पुगे पश्चात् बुढालाई एयरपोर्टबाटै नक्कली कागजात भएको भनी फिर्ता पठाइएको थियो ।
नेपाल फर्किएपछि पीडित बुढाले वैदेशिक रोजगार विभाग आई निवेदन दिएका थिए । सोही आधारमा कार्यालयबाट खटिएको टोलीले ठगी गरी फरार रहेकी गुरुङ फागुन २१ गते बानियाँटारबाट पक्राउ गर्न सफल भएको थियो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।